अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने बताएका छन् । सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने आशय व्यक्त गरेका छन्।
अर्थमन्त्री महतले आइतबार सार्वजनिक मौद्रिक नीतिमा आफूले भन्दै आएको ब्याजदरमा खुकुलोपनलाई सम्बोधन गरिएको बताए। उनले अब निजी क्षेत्रमा लगानी सहज हुने, ब्याजदर घट्दै जाने बताएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्त नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने भएको पनि बताए। उनले अहिले समग्रमा हेर्दा मूल्यवृद्धि कम भएको दाबीसमेत गरे । उनले सरकार विसंगतिलाई चिर्दै समस्याको समाधान खोजेर अघि बढिरहेको बताएको छ।
उनले भने, ‘हिजो मात्रै मौद्रिक नीति सार्वजनिक भएको छ, मैले पटक-पटक मौद्रिक नीति घोषणा गर्दा ब्याजदरमा खुकुलो पन ल्याउनुपर्छ भन्दै आएको थिएँ। त्यही खुकुलो आएको छ। अरु पनि केही पहलहरु भएका छन्। त्यसले निजी क्षेत्रमा लगानी पनि सहज हुन्छ। ब्याजदर कम भएर जान्छ। लगानीको वातावरण सहज बनाउँछ।’
अर्थमन्त्री महतले सय किलो सुन आफूले आर्थिक वर्ष २०८०-०८१ मा ल्याएको सूचना दिनेलाई पुरस्कारको व्यवस्थाका कारण पक्राउ परेको दाबी गरे। मन्त्री महतले सुन प्रकरणमा अहिले अनुसन्धान भइरहेको र गैरकानुनी काम गर्ने जो कोहीलाई पनि कारबाही हुने बताए। उनले भन्सारमा प्रविधिको अपडेट र आधुनिक मेसिन जडान गर्नुपर्ने आवश्यकता रहेको बताए र भन्सारमा हुने अनियमिततालाई निस्तेज पार्नुपर्ने आवश्यकता रहेको बताए।