कोशी प्रदेशका १४ ओटा जिल्लामध्ये दश ओटा जिल्लामा डेङ्गीका बिरामी पाइएपछि कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ ।
डेङ्गी सङ्क्रणको जोखिम उच्च भएपछि रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोशी प्रदेशको सुनसरीमा सबैभन्दा बढी डेङ्गीका सङ्क्रमित पाइएको छ । ०८० साउन ४ गतेको तथ्याङ्क अनुसार सुनसरीमा २ सय ३९ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ ।
कोशी प्रदेशमा ३ सय ५४ जना डेङ्गीका बिरामी भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाले जनाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कका अनुसार कोशी प्रदेशका १४ जिल्लामध्ये सुनसरी, मोरङ र सङ्सुवासभामा डेङ्गीको सङ्क्रमण उच्च देखिएको छ ।
सुनसरीको धरान उपमहानगपालिका-११, १५ र १७ वडामा सबैभन्दा बढी डेङ्गीका सङ्क्रमित पाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सङ्खुवासभामा ३० जना, मोरङमा २५ जना, झापामा २४ जना, तेहृथुममा १५ जना, धनकुटामा आठ जना, भोजपुर पाँच जना, खोटाङमा चार जना, इलाम र ताप्लेजुङमा एक-एक जना डेङ्गीका सङ्क्रमित भेटिएका छन् ।
गएको वर्ष कोशी प्रदेशमा २ हजार भन्दा बढी मानिसहरू डेङ्गीबाट सङ्क्रमित भएका थिए । डेङ्गीको सङ्क्रमण तीव्र रूपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय मोरङ र सुनसरीले ‘खोज र नष्ट गर’ अभियान चलाउन आग्रह गरेका छन् ।
कोशी प्रदेशमा डेङ्गीको सङ्क्रमण उच्च देखिन थालेपछि स्वास्थ्य मन्त्रालय कोशी प्रदेशले सम्बन्धित सरोकारवाला र आफ्ना मातहतका केन्द्रहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको स्वास्थ निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले बताउनु भयो । उहाँले देशभरमा फैलिदै गएको डेङ्गी सङ्क्रमणलाई नियन्त्रण गर्न प्रदेश सरकारले तीव्र रूपमा काम गरेको बताउनु भयो ।
हरेक स्थानीय तहसँग समन्वय गरेर लामखुट्टे ‘खोज र नष्ट गर’ भन्ने अभियान चलाउनका लागि निर्देशन दिएको निमित्त स्वास्थ्य निर्देशक बस्नेतले बताउनु भयो ।
विगतका वर्षहरूमा डेङ्गी बिरामीहरूका लागि प्रयोग गरिने टेष्ट किट अभाव देखिएकोमा यस पटक डेङ्गी नियन्त्रणका लागि किटको अभाव हुन नदिनका लागि तीन तहका सरकारसँग समन्वय गरिएको स्वास्थ्य तथा आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डाक्टर वीरेन्द्रकुमार मण्डलले बताउनु भयो । महाशाखामा उपलब्ध भएको ५ हजार ३ सय २५ थान किट विभिन्न ठाउँबाट माग भएअनुसार आपूर्ति गरिएको डाक्टर मण्डलले बताउनु भयो
मोरङमा डेङ्गीको सङ्क्रमण देखिएपछि विराटनगरमहानगरले स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण तालिम दिएको महानगर स्वास्थ्य सेवा महाशाखा प्रमुख हैदर अलीले बताउनु भएको छ ।
चिकित्सकका अनुसार डेङ्गीको ज्वरो एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।
ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, वान्ता हुनु डेङ्गीका प्रमुख लक्षण हुन् ।
चिकित्सकका अनुसार डेङ्गी सङ्क्रमणबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हाे ।







