सर्लाहीकाे कौडेना गाउँपालिका–२ की ४८ वर्षीया मदिना खातुनलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा सोही ठाउँका ३६ वर्षीय दिवाना भनिने दिलकुमार यादव र २९ वर्षीय सकिन्द्र यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा ०८० साउन २ गते उजुरी दिएको छ ।
आरोपितहरूले पीडितलाई असार २४ गते बोक्सीको आरोपमा गालीगलौच गर्नुको साथै कुटपिट समेत गरेको पीडित खातुनले बताइन् । कानूनी प्रक्रियामा अघि बढेपछि गाउँमै मिलापत्र गर्न वडा अध्यक्ष र आरोपित पक्षले असार ३० गते दबाब दिएको पीडितको आरोप रहेको छ ।
पीडितको उपचार असार २५ गतेदेखि २७ गतेसम्म सर्लाही जिल्ला अस्पतालमा भएको थियो र थप उपचारका लागि असार २८ गते वीरगंजको नेशनल अस्पताल लगिएको थियो । साथै उनको घाउ जाँच पुनः साउन २ गते सर्लाही जिल्ला अस्पतालमा गरिएको छ । घटना बारे अनुसन्धान गरी दोषी उपर कानून बमोजिम कारबाही गर्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी कैलास राईले जानकारी दिए ।







