सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष नेपाल भलिबल संघले खेलका क्रममा दर्शक कुट्ने त्रिभुवन आर्मी क्लबका ३ जना खेलाडीलाई कारबाही गरेको छ । प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशसँगको खेलका क्रममा आर्मीका धनबहादुर भट्ट लगायतका खेलाडीले दर्शक कुटेका थिए ।
छानबिनका लागि गठन गरिएको ५ सदस्यीय समितिको सुझावका आधारमा भलिबल संघको कार्यसम्पादन समितिको बैठकले कारबाहीको निर्णय गरेको संघका महासचिवसमेत रहेका श्रेष्ठले जानकारी दिए ।दर्शकमाथि हातपात तथा खेलका क्रममा अनुशासनहीन गतिविधि गरेको भन्दै संघले क्लबका स्पाइकर धनबहादुर भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३ महिनाको प्रतिबन्ध लगाएको छ । भट्टलाई ६ महिना तथा विष्ट र कुँवरलाई ३ महिना राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेको छानबिन समितिका संयोजक रोशन श्रेष्ठले जानकारी दिए । ‘हामीले उक्त खेलमा निर्णायकको भूमिका निर्वाह गर्ने दुई रेफ्रिलाई पनि आगामी क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णायकको भूमिका निर्वाह गर्न नपाउने भन्ने निर्णय अनुमोदन भएको छ,’ श्रेष्ठले भने ।
आर्मीकै ब्लकर रहेका दुर्गा खड्कालाई भने आगामी दिनमा यस्तो कार्य नदोहोर्याउने गरी चेतावनी दिएर छोडिएको श्रेष्ठले जानकारी दिए । दुर्गाले प्रतियोगितामा उत्कृष्ट ब्लकरको उपाधि पनि जितेका थिए । आर्मीका कप्तानसमेत रहेका हरिहजुर थपालाई राष्ट्रिय टिमको कप्तानबाटसमेत बर्खास्त गरिएको छ ।