काठमाडौंमा विभिन्न बैंकको कर्मचारी हुँ भन्दै अनलाईन मार्फत ठगी गरेको अभियोगमा मोरङकाे धनपालथान गाउँपालिका-१ घर भएका २१ वर्षीय महमद जोजाहीद मियालाई प्रहरीले पक्राउ गरेको छ ।
मियाले पिडितहरुसँग फोन सम्पर्क गरी बिभिन्न बैंकको आधिकारीक कर्मचारी हुँ भन्दै ठगी गरेका थिए । उनले बैक खातासँग वालेट आईडी लिङकअप गरी खाता नविकरण , केवाइसी फर्म अपडेट, सेक्यूर ट्रान्सफर चार्ज नलाग्ने, राम्रो बोनस प्राप्त हुने जस्ता कार्य गरीदिने भन्दै पीडितहरुकै बैक खाता लगायत ओटिपी कोडसमेत मागी खातामा पहुँच पुर्याई अन्यत्र बैंक खाता तथा वालेटहरुमा ११ लाख १२ हजार ८ सय ४० रूपैयाँ रकम रकमान्तर गरी ठगी गरेकाे आराेप छ ।
ठगी कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको जनाइएकाे छ ।