रवीन्द्र माकाजू
पोखरा
२०५१ साल तिर मेरो सम्पर्क स्व. सवज्र्ञमान प्रधानाङ्गसँग भएको हो । सनातन धर्म सेवा समितिले जन्माष्टमीको पावन अवसरमा भक्ति संगीत सम्मेलनको आयोजना गरेको थियो रामघाटको गीता मन्दिरमा । उनलाई निर्णायकको रूपमा बोलाइएको थियो वरीष्ठ संगीतज्ञको रूपमा । उनले त्यहाँ मिठा र सुमधुर राग प्रस्तुत गरे । उनले गाएका रागबाट सबै प्रभावित भए । मैले उनको साधनालाई नगिजबाट नियाल्न खोजँे । उनको कला, गलाको मुरीमुरी प्रशंसा गर्दै फाइदा पनि लिएँ । उनी राग गाउँदै जान्थे मैले कपीमा भजन उतार्दै गएँ । मैले जीवनमा पहिलोपल्ट भजन संग्रह निकालँे प्रभु चरणामृत (२०५४) ।
मलाई के लाग्छ भने स्व. सर्वज्ञमान प्रधानाङ्गलाई पोखराले भैरवनृत्यका गुरु संस्कृतिविद् भनेर मात्र चिन्दैनन् उनी पोखराका एक वरीष्ठ कलाकार, संगीतज्ञ, रागी भनेर पनि चिनिन्थे ।
सम्भवत पोखराले अहिले पनि उनी जत्तिकै कुशल रागी पाउन सकेको छैन । उनी विभिन्न तालमा राग गाउँथे । जसलाई आधुनिक भाषामा शास्त्रीय संगीत गाउँथे । मैले उनको व्यक्तित्व र कृतित्वलाई जीवन्त राख्न उनको जीवनी पुस्तक “सर्वज्ञमान” लेखँे ।
कुनै पनि देशको विशेषता भनेको त्यस देशको धर्म संस्कृति, परम्परा, कला, साहित्य, भूगोल मानिन्छ । यो बिना कसैको आफ्नो मौलिक अस्तित्व वा पहिचान हुँदैन । कुनै पनि संस्कृति या परम्परा एकै दिन वा एकै रातमा तयार हुँदैन । यसका लागि कयौंले साधना, या अनवरत मेहेनत गर्नुपर्दछ । यस क्रममा पोखराको धर्तीमा भैरवसंस्कृतिको सुन्दर बगैंचालाई मल जल हालेर हुकाउने माली थिए– सर्वज्ञमान प्रधानाङ्ग ।
वि.सं १९७२ महाशिवरात्रिको पावनदिनमा पोखराको भैरवटोलमा जन्मनु भएका सर्वज्ञमान सानै उमेरदेखि बावु चर्तुमान प्रधानाङ्गसँग पूजाआजा, भजन कीर्तनमा जाने गर्नुहुन्थ्यो । हुने विरुवाको चिल्लो पात भनेझैँ बाबुबाजेका असल गुणहरूका कारण त्यसको प्रभाव पर्न थाल्यो । सानै उमेरमा हार्मोनियम, तबला, मृदङ्ग बजाउने गर्नुहुन्थ्यो । त्यस बेला पोखरामा संगीतका गुरुहरू थिएनन् । सर्वज्ञमान सरस्वतीका सच्चा उपासक थिए । त्यसवेला भैरवटोल स्थित गणेश मन्दिरको पौवामा नारायणस्थानमा भारतवाट ब्रह्मचारी, योगीहरू आउँथे । त्यसमध्ये कतिपय कुशल भजन गायक हुने गर्दथे । उहाँ साँझ प्रायः त्यस ठाउमा जाने गर्नुहुन्थ्यो र संगीतका विषयमा ज्ञान हासिल गर्नुहुन्थ्यो ।
२००० सालतिर काठमाण्डौंबाट एक हरिबोल भन्ने वस्ताज पोखरा आएका थिए । सर्वज्ञमानले आफ्नै घर पछाडि रहेको भन्सारमा विविधप्रकारका संगीत सिक्नुभयो । सर्वज्ञमानं आफूले जानेको संगीत कलालाई अरूलाई पनि सिकाउँथे । त्यसवेला प्रज्ञारत्न ब्रजाचार्य, सानुकाजी बिजुक्छे, रामबहादुर बडगामी, जयराम भान्साकार, जगतबहादुर ताम्राकारहरूले आफूसँग हार्मोनियम, तबला सिक्ने गरेको बताउनुहुन्थ्यो ।
संगीतमा ज्ञान हासिल गरी पछिसम्म पनि शास्त्रीय संगीतमा उहाँमा ठूलो अनुराग रह्यो । उनका घरमा प्रायः जसो सांगितिक कार्यक्रम हुने गर्दथ्यो । पछि पोखरामा बडाहाकिम धनशम्सरेका छोरा हरिराजा (त्रैलोक्य शम्सेर) पोखरा आए । त्यहाँ प्रायः जसो भव्य नाचगान हुने गर्दथ्यो । धनशमशेरले नेपाली भाषाका अनेकौ नाटक निकाल्ने गर्दथे । सर्वज्ञमानले नाटकमा हार्मोनियम बजाउने गर्नुहुन्थ्यो । धनशमशेर विद्वान र ठूला कवि थिए । मेजर जनरल धनशमशेरले आफ्नै नाउँमा रागमय गीत रचेका थिए ।
सर्वज्ञमान ७ वर्षको उमेर देखि नै पसलमा बस्ने गर्नु हुन्थ्यो । त्यस बेला पोखरामा अहिलेको जस्तो जनघनत्व थिएन । वस्ती पातलो थियो, चौरासी घर कुरियामात्र थियो । बजारको नाउँमा भैरवटोल (लामाचौतारा), नालामुख, तेर्सापट्टी, गणेशटोल आदि मुख्य बजार थियो । सर्वज्ञमान आफ्ना बाबु चतुरमानसँग काठमाण्डौं पैदल जाने गर्नु हुन्थ्यो । पछि पछि उहाँ मित्र राष्ट्र भारतका प्रमुख शहरहरू कलकत्ता, बम्बै, अहमदावाद, सुरत आदि शहरमा सामान किन्न जान थाल्नुभयो । त्यहाँ पनि आफ्नो शास्त्रीय भजनहरू सुनाउने गर्नु हुन्थ्यो ।
सर्वज्ञमानले धेरैवर्ष भैरवनृत्यको गुरुपद र अध्यक्ष भएर संस्कृतिको संरक्षण गरे । भैरवनृत्य पोखराको गौरव बनेको छ । उनले सर्वज्ञमान , स्थापना गरेका छन् । उनले ००७ सालको राणा विरोधी आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनी २०१६ सालमा पोखरा वडा नं. २ मा अध्यक्ष बनेका थिए भने पोखरा व्यापारसंघमा पनि अध्यक्ष भएर सेवा पु¥याएका थिए । उनले महर्षि वेदव्यास पुरस्कारपनि प्राप्त गर्न सफल भए ।
शास्त्रीय संगीतका गुरु, स्वतन्त्रता सेनानी, संस्कृतिविद्, शताब्दी पुरुष सर्वज्ञमानको १०३ वर्षको उमेरमा देहावसान भयो । आज उनी हामीमाझ नभएपनि उनको योगदानका कारण अजर अमर भई पोखराको इतिहासमा सदा सदा बाँचिरहेका छन् ।
रवीन्द्र माकाजू, सनातन धर्म सेवा समिति, भैरवनृत्य,विष्णुदेवी संस्कृति पुरस्कार








