टिकटकमार्फत साथी बन्ने, एकअर्कालाई लाइक, कमेन्ट गर्ने, भेटघाट गर्ने, घरमै पुगेर सँगै टिकटक बनाउने र मौका परेपछि सुनको गहना चोरी गरेर बेचेको आरोपमा स्याङ्जा प्रहरीले एक जना महिलालाई प्रक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका–३ की २४ वर्षीय कुसुम बिसी छन् ।विसीले सुरुमा स्याङ्जा वालिङ–६ एक्ले पिपलस्थित एक महिलालाई साथी बनाएर भेटघाट गर्न घरमै पुगेकी थिइन् ।
प्रहरीका अनुसार उनीहरुले सँगै मिलेर टिकटक पनि बनाएर पोस्टसमेत गरेका थिए ।
त्यसपछि घरमा गहना, दराजको चाबी लगायतको जानकारी पाएपछि औंठी र लकेट चोरेर बिसी भागेको भन्दै ती महिलाले उजुरी गरेकी थिइन् ।
त्यसपछि प्रहरीले बिसीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको स्याङ्जा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।
उनका अनुसार बिसीले सुनका गरगहना पोखराको एक ज्वेलर्समा बेचेकी थिइन् । उनलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।