रवीन्द्र माकाजू
पोखरा ८,
चिप्लेढुंगा निवासी ८२ वर्षिय केशरप्रसाद श्रेष्ठलाई पुराना बुढापाकाहरु श्रद्धापूर्वक मेनेजर सर भनेर सम्बोधन गर्ने गर्दछन् । जीवनका धेरै समय वित्तिय सेवामा आफूलाई समर्पित गरेका केशरप्रसाद श्रेष्ठ बाहिरी प्रचारमा आउन चाहँदैनन् । उनी भन्दछन्– मैले मुलुकको आर्थिक विकासमा जे जस्तो भूमिका निर्वाह गर्न पाएँ त्यसैमा म सन्तुष्ट छु ।
वि.सं. १९९८ साल चैत्र २८ गते स्याङ्जाको सालडाँडामा जन्मिएका श्रेष्ठको बाल्यकाल निकै कष्टकर थियो । उनले स्कुलको मुहार हेर्न पाएका थिएनन् । दाजुले पढेका पुस्तकहरु घरमै बसिबसि पढ्ने गर्दथे । उनको त्यो दैनिक जीवनचर्या नै थियो । उनले स्कुल पढ्न नपाए पनि उनको मनमा ज्ञानको भोक ठूलो थियो तिव्र थियो । वि.सं. २०१३ सालमा स्वलर्जबोर्ड हाइस्कुल खोलिएको थियो भूतपूर्व सैनिकका परिवारका लागि । २०१५ सालमा भने सो विद्यालयमा सर्वसाधारणलाई पनि पढ्ने मौका मिल्यो । केशरका बुबाले उनलाई विद्यालयमा भर्ना गर्न लगे । तत्कालीन हेडमास्टर महेन्द्रसिंह थापाले केशरलाई ७ कक्षामा भर्ना गरिदिए । त्यो दिन नै केशरका जीवनका लागि अत्यन्त सुखद र महत्वपूर्ण दिन थियो । केशरले पढ्न कुनै कसर बाँकी राखेनन् । २०१९ सालमा क्ीऋ परीक्षा पास भै २०२० सलामै पृथ्वीनारायण कलेज भर्ना भए । उनले त्यसैबेला बाराही स्कुलमा पनि पढाएको सम्झन्छन्– त्यसबेला विद्यालयको हेडमास्टर धु्रवबहादुर श्रेष्ठ थिए ।
आए.ए. पास भए पछि केशरले नेपाल राष्ट्र बैंकमा जागिर खाए । उनी कलेजमा बि.ए. पढ्दै थिए । बि.ए परीक्षा पास गरेपछि नेपाल बैंकमा सहायक मेनेजरको जागिर पाए २०२२ सालमा । २०२५ सालमा उनी पदोन्नति भै मेनेजर भए । मेनेजर भएपछि उनी धेरै ठाउँमा हाकिम भए । शुरुमा उनी स्याङ्जा, बुटवल, बाग्लुङ पुगे । त्यसपछि उनी बुटवल, पोखरा, विराटनगर पुगें । त्यहाँबाट ललितपुर, पोखरा हुँदै पछिल्लो समय भैरहवामा पुगें ।
केशरले आफू हाकिम भएपनि ग्राहकहरुबाट कुनै नाजायज सेवा सुविधा लिएनन् । उनी सरल र सादगी भएकाले तलबबाटै जीवन निर्वाह गरे । उनी २०४९ सालमा सेवा निवृत्त भए । उनी नेपाल बैंकबाट सेवा निवृत्त भएतापनि उनको योग्यता र अनुभवको कदर गर्दै सिद्धार्थ फाइनान्सले भैरहवामा सिइओ पदमा नियुक्ति ग¥यो । उनले त्यहाँ ६ वर्ष सेवा गरें । पछि उनलाई ओम फाइनान्तसका सञ्चालकहरुले पोखरा बोलाएर संस्था हाक्ने जिम्मेवारी दिए । श्रेष्ठले कुशलतापूर्वक संस्थाको नेतृत्व लिँदा छोटो अवधिमा पनि संस्थाले सोचेभन्दा बढी प्रगति ग¥यो । ग्राहकहरु केशरको चेहरा, स्वभाव, सहयोगी भाव हेरेर बैंकमा पैसा राख्न आउँथे । केशरले पनि आफैं गई ब्याज रकम झिक्न मद्दत गर्ने, मिठो बोलीवचन, व्यवहार गरिदिँदा ग्राहकहरु सन्तुष्ट हुन्थे । ऋणीहरुलाई ऋणको सही सदुपयोग गर्न सिकाउँथे । ग्राहकलाई नगिचबाट नियाल्थे, पे्ररणा दिन्थे, मार्गनिर्देशन गर्दथे । उनको कार्यकालमा सबै ग्राहकको पनि राम्रै भयो । कसैको पनि अवनति भएन । आफ्ना कर्मचारीसँग आत्मीय व्यवहार गर्दथे, सबै खुसी थिए । उनको भलाद्मीपन, मिठो बोलीवचन देखेर कतिपयले भन्ने गर्दथे– मेनेजर यस्तो पो मेनेजर ! न अहंकार । मेनेजर होस् त केशर जस्तै ।
उनका दीर्घ जीवनका कुनै दुःखद घटना सुन्नु परेन । अहिले उनी सुन्दैछन्– देशको अर्थतन्त्र त्यति राम्रो छैन रे ! यस कुराले उनको मन नराम्ररी दुःखेको छ । उनको ठम्याई छ– ससानै काम भएपनि काम गर्दै जाँदा सफल भइन्छ र लक्ष्यमा पुगिन्छ । मुलुक आत्मनिर्भर हुनुपर्छ ।
ओम फाइनान्समा करिब ८ वर्ष जागिर खाएपछि उनी अहिले रिटायर्ड लाइफ बिताउँदैछन् । पारिवारिक आनन्दमा रमाइरहेका छन् । जेष्ठ नागरिक सरोकार समाज, गोपालजी मन्दिर सेवा समिति लगायतका संस्थामा आवद्धपनि छन् । मनमा ठूलो तृष्णा छैन । उनी जे जति मिल्यो त्यसलाई परमात्माको प्रसाद सम्झन्छन् । उनको परमात्मासँग एउटै प्रार्थना छ– सत्कर्म गर्दागर्दै जीवन बितोस्
रवीन्द्र माकाजू वाल बाट







