कैलालीको गौरीगंगा नगरपालिका–२ की कविता बुढाको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो । सोही घटनाको अनुसन्धानको क्रममा प्रहरीले कविताका ससुरा ५२ वर्षीय डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी बुढा र ज्वाईं नाता पर्ने भजनी नगरपालिका–४ का ४१ वर्षीय जयबिर बुढालाई नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा १८ जेठमा पारिवारीक विवादका क्रममा ससुरा डिल्लीसिंहले भान्सा कोठामा रोटी पकाइरहेकी कवितालाई चिरपटले हानेर हत्या गरेको देखिएको प्रहरी निरीक्षक साउँदले जानकारी दिए । बुहारीको हत्या गरेपछि डिल्लीले श्रीमतीको सहयोगमा शव डोकोमा हालेर घरभन्दा करीब ३ किलोमिटर टाढा पर्ने गौरीगंगा नगरपालिका–१ को केदारेश्वर सामुदायिक वनमा पुर्याएर ८ फिट गहिरो खाल्डो खनेर गाडेको आरोप छ ।
मृतक कविताका श्रीमान भने विगत एक वर्षदेखि दोस्रो विवाह गरेर भारतमा बस्दै आएका छन् । कविताका दुई जना छोरा–छोरी छन् ।