पुजा श्रेष्ठ
काठमाडौं
तिमी मलाई पिँजडामा कैद गरेर भन्छौ
“तिमी पूर्णरूपले स्वतन्त्र छौ”
ओठ बन्द गराएर भन्छौ
“तिम्रो मुक्तिको आवाज बुलन्द छ”
तर,
मलाई तिम्रो जालझेलको नाटक होइन, उन्मुक्ति चाहिएको हो …।
मेरो खुट्टाहरू बाँधेर भन्छौ
“तिमी अघि बढेर संसार नियाल”
मेरो आँखा छोपेर भन्छौ
“हेर यी रङ्गीचङ्गी सौन्दर्य तिम्रै त हो “
तर
मलाई तिम्रो दासत्व होइन, उन्मुक्ति चाहिएको हो ….।
घुम्टोले छोपेर सुस्तरी भन्छौँ
” सजावटमा धपक्क बलेकी छौ “
चौघेरामा थुनेर भन्छौ
“तिमीलाई सुखी बनाएको छु”
तर
मलाई तिम्रो पुरूसत्व होइन , उन्मुक्ति चाहिएको हो….।
महाशय,
सुख र खुसी अलग कुरा हो ,
मलाई तिम्रो परिभाषाको सुखले खुशी दिदैन
मलाइ तिम्रो पिँजडा फोरेर
निर्धक्क आकाशमा कावा खान मन छ
तिम्रो बन्धनको चौघेरालाई फुटाएर
मुक्तिको आवाज चर्काउने मन छ
तिम्रो सजावटको साधन हैन
आफ्नै पौरखले सजिने मन छ
मलाई खुसी देख्न चाहन्छौ ?
साथ दिन सक्छौ?
सक्छौ यदि भने ,
म तिमी सँगसँगै सयौँ जङघार तर्न चाहन्छु
कयौ पहाड चढ्न चाहन्छु
म तिमी जस्तो एकलौटी सासक हैन
सँगसँगै कयौ उदेश्यहरु पुरा गर्न चाहन्छु
त्यसैले
मलाई तिम्रो स्वार्थको निर्देशन होइन , उन्मुक्ति चाहिएको हो ….।
२०८०/०१/१८