लक्षमण थापा
जीवन गुजारा गर्न प्रत्येक जिवित मान्छेले कुनै न कुनै पेशा गर्नुपर्छ । कोही अनुसन्धान, आविष्कार र ज्ञानको गवेषण गर्नमा दत्तचित्त हुन्छन् भनें कोही शासन प्रशासनमा रही हैकम चलाउँछन् । कोही चिकित्सा, ब्यापार र उद्योग व्यवसायमा हुन्छन् भनें कोही कालीगढी र मज़दूरी गर्छन् ।
कोही कृषि, पशुपालनमा लाग्छन् भनें कोही पकेटमारी, चोरी ठगीमा पनि लाग्छन् । तर माथी उल्लेखित अन्तिम बाहेक अन्य पेशाहरु कुनै न कुनै रुपले उत्पादन र सेवासंग सम्बन्धित हुन्छन् । तेस्तै सेवा प्रवाह गर्ने मध्ये मेहनत, पसिना र इमानको कमाइ खाने पेशा मज़दूर हो । कवि ईन्द्र राना प्रतीक पेशागत रुपले मज़दूर हुन् र चोतनाको हिसाबले कवि हुन् ! उनको कविता संग्रह विश्व मज़दूर दिवसकै दिन विमोचित भयो ।
उनी औपचारिक शिक्षाको दृष्टिकोणले हेर्ने हो भनें सामान्य लेखपढ गर्न सक्ने योग्यता भएका व्यक्ति हुन् र चेतनाको दृष्टिकोणले हेर्ने हो भनें उच्च काव्यचेत भएका स्रष्ठा हुन् !

उनको काव्यचेत बुझ्न हिजो मात्र विमोचन गरिएको काव्य संग्रह “भुइँमान्छेका कविता” हेरे पुग्छ !
उनको चेतनाको प्रखरता हिजैको संक्षिप्त सम्वोधनबाट प्रष्ट हुन्छ ।उनमा भएको काव्यिक निखारता हिजैको एकल काव्य वाचनबाट पनि प्रष्ट भयो ।
पोखराले कवि ईन्द्रलाई माया गरेको छ । काठमाण्डौसम्म पनि एसको सुवास फैलिएको छ । काठमाण्डौले पनि ईन्द्रलाई मन खोलेर माया गर्दोरहेछ भन्नेकुराको साक्षी भइयो !
समयको अभाव र तमाम प्रतिकूलता भन्दा माया ठूलो हुँदोरहेछ । तेसैले साहित्यकार दीपक समीप, सन्जीव पौडेल, सूरज उपाध्याय, अमृत र म बैशाख १७ गते बेलुकी ५ बजे काठमाण्डौ हिंड्ने निधो ग-यौं । तर अमृतको घरायसी कारणले यात्रा निश्चित देखिएको थिएन ।
प्रेमको सकारात्मक प्रकम्पनको शक्तिले होला, १६ गते बेलुकीसम्म समय पनि अनुकुल भएको सूचना प्राप्त भयो र हामी १७ गते अमृतले मलाई र सूरजलाई जिरो किमीमा लिन आउँने भए । निर्धारित समयमा हामी भेट भयौं । दीपकलाई औद्योगिक क्षेत्रबाट लिएर पाँचबजे हिंड्यौं । सन्जीव लेखनाथबाट जोडिएपछि हामीले बिस्तार एवं मर्मत भैरहेको मूलबाटोबाट नभै देउराली उकालीको बाटो जाने निर्णय ग-यौं र मोटर भित्री बाटोतिर लाग्यो । साँधुरो सडक भए पनि यातायातका साधनहरु असाध्यै पातला भएकोले अमृतले तिब्र गतिले हाँकेको मोटरले सूरजलाई असजिलो लाग्यो । हुन त यात्रामा मोटर नलाग्ने मलाई पनि अप्ठ्यारो लाग्यो । एस्को कारण घुमाउरो सडकमा गति तिब्र हुनु थियो । संजीव र दीपकको लागि नयाँ नभए पनि बाँकी तीनजनालाई नयाँ रुट थियो । दीपक र सन्जीवले बाटोमा परेका खोल्सा, खोला, पुलपुलेसा, स-साना बजार र ठाउँका बारेमा जानकारी दिइरहे । आफ्ना शैशवावस्था र किशोरावस्थामा ती ठाउँसंग जोडिएका प्रसंग रमाइलो पाराले बताउँदै गए ।

क़रीब दुईघण्टाको यात्रापछि हामी दमौली पुग्यौं । तेसपछि सडकको धूलो, घुवाँ र भत्काएको सडकको बिजोगले अत्यास लाग्ने वातावरणमा प्रवेश ग-यौं । तैपनि मन मिल्दा र रमाइला साथीहरु भएकोले रमाइला प्रसंग र वार्तालाप समय गएको पत्तै भएन । सामान्य अवस्थामा छ सात घण्टामा पुगिने काठमाण्डौं उत्रिदा रातको डेढ बजेको थियो ।
१८ गते मज़दूर दिवसको दिन “मज़दूर कवि” ईन्द्र रानाको पुस्तक विमोचन र एकल वाचन मण्डला थिएटरमा थियो । दिन झरिलो थियो । हामी निर्धारित समयभन्दा अगावै पुगिसकेका थियौं । मण्डलामा पोखरेली कवि तीर्थ श्रेष्ठ र अभिनेता तथा निर्देशक अनुप बराल पुगिसकेका थिए । संगै कवि अल्पज्ञानी, राजिन पनेरु, लक्ष्मीदेवी गौंडेल, दुर्गाकिरण, प्रभा बराल लगाएत श्रीराम राई, अभय श्रेष्ठ पनि देखिए । आजका नायक कवि प्रतीक पनि छोरा र छोरी समेत उपस्थित थिए । प्रत्यक्ष परिचित, सामाजिक सन्जालबाट परिचित र अपरिचित अनुहारहरुको आगमन हुँदै जान थाल्यो । निर्धारित समयभन्दा केही ढिलो कार्यक्रम सुरु हुँदा मण्डला थिएटरको हलमा मानिसहरु खचाखच भरिएका थिए ।

बिहानैदेखि हल्का वर्षा भएको केही चिसो र ओसिलो दिनमा साहित्यकार माया ठकुरीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रमको संचालन अमृत भादगाउँलेले गरे । साहित्यकार अभय श्रेष्ठले स्वागत, प्रकाशक, बुक्स हिमालयका पवन शाक्य , तीर्थ श्रेष्ठ र माया ठकुरीले संक्षिप्त शुभकामना दिए । नगद ५१॰॰॰/, दोसल्ला र सम्मानपत्र सहित प्रतीकलाई सम्मानित गरेपछि एकल वाचनको सुरुआत भयो । आफ्ना अनुभव, अनुभूति र भावनालाई सटिक र आकर्षक रुपमा प्रस्तुत गर्दै गरेका काव्य वाचनले श्रोताहरुलाई मन्त्रमुग्ध पार्न कवि सफल भए ।
कवि ईन्द्रले कविता वाचन गरिरहेको बेलामा बिच बिचमा वाह वाह भनेर प्रोत्साहित गर्ने को रहेछ भनेर एस्सो हेरेको त पल्लोपट्टि कवि ईश्वरमणि अधिकारी पो रहेछन् । अष्ट्रेलियाबाट उडेर काठमाण्डौं झर्ने बित्तिकै सिधै मण्डला आइपुगेका रहेछन् । मलाई सुखद् आश्चर्य लाग्यो । एस्तो पो हो त प्रेम भनेको !
क़रीब दुई घण्टाको कार्यक्रम समाप्तिपछि पनि हामीलाई भुलाउँने प्रसंगहरुमा भेटघाट र चिनापर्ची एवं सम्वन्धलाई नवीकरण रहे । ईश्वरमणिजीको प्लेन टिकट लिइसकेको हुनाले पाँचबजे नै हिंड्नुभयो । क़रीब छ बजे हामीले काठमाण्डौलाई “बाई बाई” गर्दा पोखरा जाने मार्गमा पर्ने धार्केमा पुल भाँच्चिएर अवरोध भएको सूचना प्राप्त भयो । तैपनि राजधानी प्रवेश गर्ने मूल बाटो एकाध घण्टामा कसो नखुल्ला ? भनेर छ बजे पोखरातिर लाग्यौं । नौबिसे आइपुगेपछि रातभर पनि बाटो खुल्ने सम्भावना नभएको जानकारी पायौं र बिकल्पको रुपमा टोखा हुँदै नुवाकोटबाट गल्छी पुग्ने बाटो प्रयोग गर्ने भनेर फर्क्यौं । हामीले बिहानको खानापछि कालो चिया बाहेक पेटमा केही हाल्न पाएका थिएनौं । बाटोको अवरोधले तनावमा थियौं । बाटोमा खाना पाइएला नि, भनेको त अचम्मै रहेछ । न खाना खाने भोजनालय न अल्पहारगृह ! राती भैसकेकोले पसलहरु पनि बन्द । साँघुरो उकालो अनि तेस्तै हिले ओरालो… । तेसमाथी सबै मोटर, बसहरु एतै ओइरिएका । घण्टौं बाटो जाम ! लगभग ६० किमि बाटो पार गर्न ८ घण्टा लाग्यो । बाटो नचिन्नु र राती भएकाले सोध्ने मान्छे नपाउँनुले अर्को बिजोग ! कसो कसो गुगलम्याप हेर्ने वुद्धि आउँनाले तै गल्छीसम्म आइयो ।
पृथ्वी राजमार्गमा पनि ट्रक बसहरु बाटैभरी खडा थिए। । बडो मुस्किलले बाटो बनाउँदै अगाडि बढ्यौं । बाटोमा पेटपूजा गर्ने ठाउँ कतै थिएन । गजुरीमा आएपछि दुईतीन वटा होटल खुला देखिए । एउटामा त खानेकुरा केही रहेनछ । अर्कोमा गयौं, तीनचारजना डाइभर खलाँसी जस्ता मान्छे थिए । तेहाँ माछा, सुकुटी, चाउचाउ आदि छ भनें । अगाडि हरिया मकैको ट्रक थियो । एउटा मान्छे चुलोमा मकै पनि पोलिरहेको थियो । “ई मकै हाम्लाई दिन्थे कि ? “ भनेर दीपकजी भनेपछि एहीं छन् हरिया मकै भनेर साहुनीले दुई घोगा निकालिन् र चुलोमा पाकेका दुईटा हाम्रो अगाडि राखिदिईन् । हामीले बाँडचुँड गरेर खायौं । साथीहरुले माछा, चाउचाउ बनाउँन अर्डर गरे र दीपकजी मकै पोल्न लागे ।
दीपकजीले एउटा सिंगै घोगा मकै मलाई दिए । किनभने म “भेगन” भएकोले पशुजन्य उत्पादन उपभोग गर्दिन । मैले तेही मकै खाएँ र उनीहरुले चाउचाउ, माछा तेस्तै खाए । बिचरा सूरजलाई त तेही पनि रुचेन ।

तेसपछि हामी पृथ्वी राजमार्गमा कुद्यौं । स्टेयरिंग समातेको अमृतलाई निंद लाग्छ कि भनेर हामी भर्सक अनिंदै रह्यौं । सूरज भनें बेला बेलामा घुर्थे । दीपकजी , संजीव र म सायदै आँखा चिम्लन पायौं । गफ गरेर अमृतलाई झकाउँन नदिने हाम्रो प्रयास रहिरह्यो । तैपनि एकदुई पटक झकाएको हो कि जस्तो भयो ।
जे होस्, आज बिहान साढे आठ बजेतिर हामी बिजयपुर खोलाको पुल तरेर पोखरा बजारमा पस्यौं !
रातभर झिमिक्क आँखा नगरी गाडी कुदाउँने अमृतले कति घण्टा लगातार कुदाए होलान् ! हिंसाब लगाउँनु होस् ।
(लक्षमण थापा द्वारा लिखित मनोबाद फेसबुकवालबाट जस्ताको तेस्तै साभार )