अभियान हाम्रो डट कम
रवीन्द्र माकाजू
धेरैलाई थाहा नहुन सक्छ, पोखरा लामाचौर स्थित गण्डकी बोर्डिङ स्कुलका संस्थापकहरु को को थिए । प्रसिद्ध कवि भूपि शेरचन, सुब्बा तोरणबहादुर के.सी लगायतको योगदानलाई आज सम्झनु पर्ने हुन्छ । हलो क्रान्तिका नायक पं. मुक्तिनाथ तिमिल्सिनाले आफ्नो आत्मकहानी (०४०) मा प्रकाशित पुस्तकको पृष्ठ १३८ मा पोखराका कर्मठ समाजसेवी, तपस्वीहरु भनेर केही नाम उल्लेख गरेका छन् ।
ती नामावलीमा प्रमुख नामहरु यसप्रकार छन् । मेजर वीरसिंह गुरुङ, पे्रमराज मुल्मी, जगदीशप्रसाद गौचन, सुन्दरप्रसाद मर्सानी, पं.ऋषिकेशव पराजुली, धर्मशीला अनागारिका, पे्रमचैतन्य ब्रह्मचारी, हितमान सुब्बा, वेदनिधि कोइराला, तोरणबहादुर खत्री, दयाशंकर पालिखे, श्याप्रसाद पन्त, जर्ज जोन, सर्वज्ञमान प्रधानाङ्ग, अमृतप्रसाद शेरचन । यी व्यक्तिहरुमध्ये प्राय ः अहिले यस धर्तीमा पनि छैनन् । परन्तु तिनका महान कार्यहरू भने जिवितै छ ।
समयको गति सँगै यी महापुरुषहरुको जीवनगाथा नयाँ पुस्ताको लागि नौलो र अपरिचित हुन सक्छ । बेलाबखत चर्चा, परिचर्चा हुन जरुरी छ । यसैक्रममा पालैपालो तिनका गाथाहरु सुनाउने क्रममा आज सुब्बा तोरणबहादुर के.सीको जीवन कहानी यहाँ उल्लेख गर्दैछु ।
“सुब्बा तोरण बहादुर खत्री क्षेत्री”- २०१६ सालमा गठन भएको पोखरा नगरपालिकामा १३ वडा मात्रै थियो । पोखरा वरिपरिका गाउँ जस्तै लामाचौर, पुरञ्चौर, अर्मला, काहुँ, भलाम, चाउथे, छिनेडाँडा, हेम्जा पछि यी सबै गाउँ अहिले महानगरमा परिणत भए । पहिला पोखरामा यातायातको असुविधा थियो । समाजसेवीहरु आ-आफ्ना गाउँघरको विकासमा अग्रसर हुन्थे ।
२००७ सालको राजनैतिक परिवर्तन पछि नेपालका हरेक बस्तीमा शैक्षिक क्रान्ति भएको देखिन्छ । हुन त यस अघि पनि पोखराको बाटुलेचौरमा २००४ सालमा आधार स्कुलले जग बसिसकेको थियो भने २००६ साल मार्ग २० गते पोखरा पब्लिक स्कुल (हाल राष्ट्रिय उच्च मा.वि) खोलिएको थियो ।
२००४ सालमा बाटुलेचौरमा आधार स्कुल खोलिएपनि आफ्नै विद्यालय भवन थिएन । वि.सं. २०१० सालमा शिक्षा इन्स्पेक्टर योगेन्द्रनारायण सिंहले जहाँ विद्यालयको भवन बन्छ त्यस ठाउँमा विद्यालयको कोटा सारिदिन्छु भने । यस भनाइले विद्यालय भवनको आवश्यकताको महशुस हुन गयो । लामाचौर र बाटुलेचौरका भलाद्मीहरु एकै ठाउँमा जम्मा हुँदा धेरैको तर्क थियो जहाँ नित्यानन्द पाठशाला छ त्यही ठाउँमा विद्यालय सारम । तर पनि आमसहमति नहुँदा दुवै तर्फ भवन बनाउने कार्यमा जोडतोड गर्न थाले । यही क्रममा लामाचौरमा भद्रभलादमी, शिक्षासेवीहरु डम्बरबहादुर पाण्डे, खरदार तोरणबहादुर खत्री, रुद्रबहादुर भण्डारी आदिको अग्रसरतामा २०१० साल भाद्र १ गते चित्रा र बाँसको टहरो बनाई विद्यालयको शुभारम्भ गरे । जुन विद्यालय अहिले ईन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको नाउँमा परिचित छ ।
स्थानीय बुढापाकाहरुका भनाई अनुसार विद्यालय सञ्चालनमा आयो तर भवन बनाउने विषयले प्राथमिकता पाउन सकेन । विद्यालय भवन बनाउन सबैको ध्यान खिच्न कृष्णबहादुर भण्डारीले अनसन नै बस्नु पर्यो । पछि तोरणबहादुर खत्रीको विशेष पहलमा बलभद्र मुखियाका छोराहरुसाग भएको ३५ रोपनी जग्गा अन्यत्र सोधभर्ना गर्ने गरी विद्यालयका नाउँमा हस्तान्तरण गरियो । यस कार्यमा महत्वपूणर् भूमिका खेलेका थिए- सुब्बा तोरणबहादुर खत्री क्षेत्रीले ।
शिक्षासेवी तोरणबहादुर खत्रीको जन्म वि.सं. १०७४ बैशाख २४ गते भएको थियो । उनका पिता दिलबहादुर र माता गौमती थिए । उनको शुभविवाह १९९३ सालमा गणेशकुमारी गौतमसँग भएको थियो । पोखराको शैक्षिक एवं भौतिक विकासमा अमूल्य योगदान स्वरूप पोखराको लामाचौरमा स्थापित इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको स्थापना र जग्गा व्यवस्थापनका साथै हालको गण्डकी बोर्डिङ स्कुलको स्थापना र जग्गा दान गरी उहाँले महत्वपूणर् भूमिका खेलेको सम्बन्धित विद्यालयले आफ्नो स्मारिकामा उल्लेख गरेको छ ।
वि.सं. १९९५ सालबाट मालपोत कार्यालयमा सेवारत के.सी वडाहाकिम सहदेव सिंहको सचिव भएर काम पनि गरे । २०१५ सालमा टेलिफोन कार्यालयको प्रमुख भै पोखरा बुटवल गोर्खा भैरहवामा समेत सेवा गरे । के.सीले ४२ वर्षको सरकारी सेवा पश्चात २०२८ सालमा सुब्बा भै जागिरबाट अवकाश लिए पनि उनले बाँकी जीवन सामाजिक सेवा कार्यमै खर्च गरे । उनी ०२९ सालमा लामाचौर गाविसको उपप्रधानपञ्च भएर गाउँको विकासमा मन लगाए । आफ्ना पुर्खाले स्थापना गरेको सुरथेश्वर शिवालयको विकासमा ध्यान दिए । शिवालय जाने बाटो बनाउने, बाटो चक्लाउने, चौतारी लगाउने कार्य पनि गरे । आफ्नै निजी खर्च गरे । ढाँड भन्ने ठाउँमा धारा हालिदिए । विभिन्न मठमन्दिर विद्यालयलाई सक्दो सहयोग गर्ने गर्दथे सुब्बा तोरणबहादुरले ।
समाजसेवी खत्री क्षेत्री धार्मिक स्वभावका भएकाले मुलुकमा नाम चलेका साधु, सन्त, महात्माहरु उनका घर आउँथे । दीन, दुःखी, असहायहरु उनको घर सहयोग र सल्लाहको आशा राखेर आउँथे । उनी आफूले सक्दो सहयोग गर्न पछि पर्दैनथे । ब्रह्ममूहुर्तमा उठेर नित्य स्नान पूजापाठ गर्ने के.सीले घरको आगनमा देवालय स्थापना गरेका थिए । खत्री क्षेत्री उच्च संस्कारका भएकाले आफ्ना सन्तानलाई उच्च शिक्षा प्रदान गरे । उनका ५ सुपुत्र र ५ सुपुत्री थिए । जेष्ठ सुपुत्र स्व. श्यामबहादुर शिक्षासेवी तथा पूर्व प्रधानाध्यापक थिए भने स्व. गोविन्दबहादुर खत्री क्षेत्री वरिष्ठ समाजसेवी थिए । उनका सुपुत्र सुपुत्रीहरुले ईन्द्रराज्य लक्ष्मी मा.वि.मा तोरण गौरी अक्षयकोष स्थापना गरी आफ्ना बाबुआमाको स्मृति गरेका छन् ।
नेपाली आदर्श विद्यालयको स्थापना (हाल गण्डकी बोर्डिङ)
खरदार तोरणबहादुर के.सी समेतका ५ जना व्यक्तिहरुले २०२२ को कार्तिकमा करिब ३५ रोपनी जग्गा विद्यालयको नाममा कागजात गरिदिइ सकेपछि लक्ष्यबहादुर गुरुङको सभापतित्वमा विद्यालय सञ्चालक समिति गठन भएको थियो । सो समितिको उपसभापतिमा चन्द्रसिंह घले थिए भने सचिवमा कवि भूपि शेरचन । त्यस्तै सदस्यमा पोखरा व्यापार संघको तर्फबाट त्रैलोक्यमान श्रेष्ठ । बुद्धिजिवीहरुको तर्फबाट पं. मुक्तिनाथ शर्मा र जग्गादाताहरुका तर्फबाट स्व. तोरणबहादुर खत्री क्षेत्री आदि भएको विद्यालयको स्वणर् जयन्ती विशेषाङ्क गण्डकीले वर्तमानसम्म नियाल्दा ०७२-६-२४ मा उल्लेख गरिएको छ ।
उपप्रधानपञ्च हुँदा के.सीले शुक्लागण्डकी देखि पूर्व उत्तर के आइ सिंह पुल देखि बाबियातराको पुलसम्म अन्दाजी १५ सय रोपनी जग्गा सिचाईको निम्ति स्व. राजा वीरेन्द्र समक्ष निवेदन चढाएका थिए । के.सी ०३८ सालमा विन्ध्यवासिनी मा.वि.बाटुलेचौरको सञ्चालक समितिका सदस्य थिए । उनी धेरै वर्ष गण्डकी आवासीय माध्यमिक विद्यालय र ईन्द्रराज्य लक्ष्मी मा.वि.का अध्यक्ष समेत भएका थिए ।
श्याम वणर् ५”३” उचाईका शिवभक्त, सधैँ चन्दनमा अवरिको टिका, मोटो शरीर, लवेदा सुरुवाल, कोट अनि कोटमा कलम, शिरमा ढाकाको टोपी, खुट्टामा जुत्ता, हँसिलो र चम्किलो अनुहारमा तोरणबहादुर सबैका प्रिय थिए । उनको ठूल्ठूला नेताहरुसँग सम्बन्ध थियो । उनी पं. मुक्तिनाथलाई गुरु मान्दथे ।
विश्वबन्धु थापा, डा. के आई सिंह, श्रीभद्र शर्मा, श्रीकान्त अधिकारीसँग निकटको सम्बन्ध थियो । जनकविकेशरी धर्मराज थापा मिल्ने साथी थिए । उनलाई धार्मिक प्रवचन सुन्न र रेडियोमा समाचार सुन्न साह्रै मन पर्दथ्यो । उनी फुटबल खेलका फ्यान थिए । तोरणबहादुर के.सी नेपाली कांगे्रस लामाचौरका सल्लाहकार समेत थिए । उनको सामाजिक, धार्मिक, शैक्षिक योगदानले कदर स्वरूप सनातन धर्म सेवा समितिले ०६८ मार्ग २४ गते मरणोपरान्त सनातनरत्नबाट सम्मानित गरिएको थियो । ०५४ साल आषाढ ३ गते ८० वर्षको उमेरमा उनले यस धर्तीबाट सदा सदाका लागि बिदा लिए







