लक्षमण थापा
अभियान हाम्रो डट कम
पोखरा ।
बिकाशवादी सिद्धांतकारहरुले मान्छे लाखु(बानर)कै एक प्रजातिबाट बिकशित हुँदै यो अवस्थामा आइपुगेको हो भन्छन् !
मलाई फिटिक्कै विश्वास लाग्दैनथ्यो । विश्वमा प्राचीनदेखि अर्वाचीन कालसम्म अनेक सिद्धांतहरु जन्मे र जन्मदै छन् । तिनीहरुले आफ्नो समयका नवीनतम सिद्धांतहरु प्रतिपादन गरे । केही सिद्धांत उनीहरुमैं सीमित रहे । केही केहीकालसम्म चले र केही अझै चलिरहेका छन् ।
हामीलाई विद्यालयमा विशेषगरी विज्ञान पढाउँने गुरुहरुले मान्छेका पूर्खा लाखु हुन्, भन्थे । हामी पत्याइदिएको अभिनय गर्थ्यौं । किनभने हाम्रो बारीमा आएर मकै सोत्र्याम् पार्ने लाखुहरु बिकाश भएर मान्छे बनेको देखेका थिएनौं । गुरुले भन्दैमा हामीले कसरी विश्वास गर्ने ?
हुन त यो संसार विश्वासले नै चलेको छ, पनि भन्छन् । अब संसार विश्वासले नै चलेको भए एत्रो विधि अविश्वास किन फैलिएको होला ?
जे होस्, हामीले आधुनिक भै टोपल्न अविश्वास गर्दागर्दै पनि विश्वास गर्छौं ।
मैले सेदीमा आलु लगाएको लाखु आएर सबै बोट उखेलेर खाइदिएछन् । मुला खाइदिएछन् । खाएको खाइदिएछन्, नखाएको पनि उखेलेर टोकेर फालिदिएछन् । मलाई चित्त दुखेन, रिस पनि उठेन । किनभने लाखुको कामै बिठ्याइँ गर्ने हो । लाखुसंग चित्त दुखाएर के गर्ने ? मान्छेसंग चित्त दुख्दा त केही गर्न सकिन्न ! आँफुले केही थप किलो आलु किन्नुपर्ला तेत्ति हो !
मजस्ता धेरै मान्छे लाखु पीडित छन् । गाउँघरतिर त लाखुको प्रकोपले मान्छेले खेतिपाती गर्नै छाडिदिए भन्ने सुन्न पाइन्छ ।
फेसबुक र टिकटकमा भुलेका मान्छेलाई लाखुले भलै गरिदिएका रहेछन् । खेतिपाती नगरेपछि काम गर्न परेन । हातगोडामा लगाएका नँगपालिस सुरक्षित हुने भयो । भारी बोक्न परेन । रंग लगाएका सिल्की कपाल नखज्मजिने भयो । लुगामा लगाएको ईस्तिरीको डाम नखज्मजिने भयो । खानेकुरा पाकेटमा ल्यायो , भाँडामा खन्याएर पकायो! कति हाइसन्चो !
लाखुहरुलाई धन्यवाद !
साधुवादलाई धन्यवाद !
अहिले मलाई मान्छे लाखुकै अवैध सन्तान हो भन्ने विश्वास लाग्नुको कारण आजै पत्ता लाग्यो ।
भयो के भनें आज बिहान फेवातालको किनारमा रमण गरिरहेको थिएँ । मेरा आँखा फ्याट्ट यौटा दृष्यमा परे । बाटोको छेउको सानो बिरुवा लछारेर भाँचिएको रहेछ । नपत्याए तलको फोटोमा हेर्नुस । अनि मैले सोचें, यहाँ सिम्पानीको जँगलबाट लाखु त आएका थिएनन् । आएका भए पनि फल न फूलको यो बिरुवा किन भाँच्थे र ? के वनमा बस्ने लाखु तेति मूर्ख होलान् र ? आफ्नै आश्रयदाताको घाँटी निमोठ्ने ? विना काम बिरुवा भाँच्दै हिंड्ने ? मलाई लाखु तेति मूर्ख लागेनन् !
अनि मान्छेतिर मेरो ध्यान गयो । संसारको सबैभन्दा वुद्धिजीवि प्राणी मान्छेले माँचेहोलान् ? अहँ पत्याउन मन लागेन !
त्यसोभए कसरी भाँच्चिएहोला त ! भनेर ग़म खाँदा यो काम लाखुले पनि गरेन र मान्छेले पनि गरेन भनें कस्ले ग-यो ?
यो काम लाखुका अवैध सन्तानले गरे, भन्ने ध्यानमा आयो र म ढुक्कसंग अगाडि बढें ।
(लक्षमण थापा द्वारा लिखित मनोबाद फेसबुकवालबाट जस्ताको तेस्तै साभार )