बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका– १० मा अन्धविश्वासले निम्त्याएको एउटा घटनाका कारण बुबादेखि मामासम्म कानुनी फन्दामा परेका छन् ।
बुटवलदेखि झन्डै ३२ किलोमिटर र भैरहवादेखि झन्डै ३५ किलोमिटर दुरीमा पर्ने झिमझिमेका सामान्य परिवारकी सदस्य सीताको मृत्यु सम्बन्धमा अहिले स्थानीय १७ जना पुर्पक्षका लागि थुनामा छन् । घटना माघ २० गते राति भए पनि पछिमात्रै बाहिर आएर प्रहरीले अनुसन्धान थालेको थियो ।
स्थानीय ताराप्रसाद ज्ञवाली र लीला ज्ञवालीकी कान्छी छोरी सीता बिरामी भए पनि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न लैजानु साटो झारफुक गर्ने बहानामा परिवारले कथित ‘माता’ समक्ष लगेको थियो । तिनै ‘माता’को कुटपिटबाट उनको मृत्यु भएको घटनाले सहर नजिक नै पनि कतिसम्म अन्धविश्वास छ भन्ने पुष्टि भएको अधिकारकर्मी गोविन्द खनालले बताए ।

रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले माताले बिरामी सीतालाई कुटपिट गरेको भिडियो बाहिर आएपछि छानबिन गर्दा अन्धविश्वासकै कारण यस प्रकारको घटना हुन पुगेको तथ्य प्रकाशमा आएको बताए । उनले घटनाका बारेमा माता, झारफुक गर्न लैजाने परिवार र मलामीलाई थुनामा राखेर अनुसन्धान गरेको जानकारी दिए ।
उनले भने, ‘यो जमानमा पनि टाइफाइड भएको बिरामीलाई सुविधा सम्पन्न अस्पताल लैजानुको साटो झारफुक गर्न लैजानु पनि कमजोरी हो । त्यसमा माताले यसरी कुटपिट गर्ने, कुटपिट गरेको हेरेर बस्ने पनि कमजोरी देखिन्छ, अरू अनुसन्धानको पाटो जारी छ ।’
साभार रातोपाटि डट कम








