बीस को नोट भित्र सयको नोट,सयको नोट भित्र पाँच सयको नोट,,,गुटुमुटु पारेर ~~प्लास्टिक भित्र बेरेर~~ जनैको टुप्पोमा बाँधेर ~~आस्कोट को भित्री पाकेट मा टाँक लगाएर बा”ले लुकाएको त्यो दाम अहिले पनि झल्झल्ती स्मरण हुन्छ।एक हजारको नोट भने कहिलेकाहीँ गाई भैंसी बेचेको बेला देख्न पाइन्थ्यो।
कुनै दिन -बा”सिसाकलम र इलेजर सकियो,,,दस रुपियाँ दिनुस् न’भनेर माग्थेँ।फुटेको कौडी छैन~~मेरा दाँत फुकालेर लैजा! भन्नुहुन्थ्यो। जबसम्म बा”ले पैसो दिनुहुदैन्थ्यो,,खुट्टामा भक्कु चप्पल,उद्रेको पँएठ र सुर्के झोला भिरेर आगनको डिलमा चोर औंला दाँतले टोक्दै बा”जता जान्थे उतै पिलपिल गर्दै हेरिरन्थेँ। जब स्कुलमा टिर्लिङ्ग घण्टी बज्यो”बा ले म तिर हेर्दै-तँ अपुतालिकोबार ले सुखमर्न दिनिभैनस्! भन्दै मुस्किलले पोको फुकाएर पाँच रुपियाँ मिल्काउनु हुन्थ्यो र म स्कुल जान्थे।घरीघरी ,,,साथी रामेको जस्तै मेरा बा”पनि लाहुरे भैदिएको भए भन्ने सोच्दथेँ।कहिलेकाहीँ बा”को त्यो पोको खसेको भेट्न पाए पनि साथीहरू सँगै बसेर हाप्छुट्टीमा खाजा खान्थेँ नि जस्तो लाग्थ्यो।मेरा बा” सारै लोभी थिए!किनकि मलाई पैसा दिदैनथे।
बा”ले पैसा कहाँबाट ल्याउछन पाकेटका पाँचसय,एकसय र बीस का नोट कस्लाई दिन्छन् होला भनेर सोच्ने गर्थेँ।छोरालाई पाँच रुपियाँ नदिनिले अरु कस्लाई देलान जस्तो पनि लाग्थ्यो।तर,बा”सित पैसा माग्न कतिहो कति मान्छे आउँथे ।हाम्रा बा”कति ठुला मान्छे रहेछन् !जल्ले पनि पैसै माग्ने भन्ठान्थेँ।
कहिले -पल्लाबारी जेठा बा”आएर डोको बुनेको पैसा ले, भनेर माग्थे।डाँडा गामका थमे दाइले हलो बाँधेको २००/ ले,भन्थे।पात्लेस्वाँरा राँइली भाउजूले मोल बोकेको दाम दिनुस बाजे भन्थिन।ढाँडखेत् भैरे बा”ले ब्याड जोतेको दाम लेउ बराजु भन्थे।भुतेखोरिया सार्की बा”ले हाल्लुँड र नाइराको भारा दिनुस् न बाबु भन्थे।तोरिखेत झिल्के काकाले दाउरा मारेको दाम लानु छ भन्दै आउँथे । मसिनचौरे हर्के दाइले पोहोरको कात्तिकाँ बीटा लाएको दुखसान्ती लगेको छैन भन्थे।सिरानघरे किस्ने दाइले साउनाँ बिसाउनी खाएको सिखारको बक्यौता लानुछ भन्दै माग्थे।बाख्रेपानी दोकानी दाइले बर्खे खर्चको पैसा लैदिनुअरे भन्दै खबर पठाउँथे। लामकाने गुर्जे दाइले,,भैंसी ब्याएर खाइसकिस्~~राँगा को पैसा तिर्दैनस? भनेर थर्काउथे।रायलडाँडा छोटे दाइले,,बर्खामा सेखु बुनेको भरोट लिनुछ भनेको पनि सुन्थें।यस्ता माग्ने मान्छे त कति आउँथे कति!हिसाबकिताब नै थिएन।
याबत कुरा देख्दादेख्दै बा”को भन्दा पनि मलाई मेरै समस्या ठुलो थियो। मेरो नजरमा बा”छुचा घोषित थिए।जनै मा बाँधेर राखेका बीस,सय र पाँचसय का नोट नदिएर किन राखेका होलान् जस्तो लाग्थ्यो।तर,म अबुझ लाई के थाहा बा”को खोल्टिका ५/७ वटा नोठ् ले पचासौं दुलोमा बुझो लाउनु पर्छ भन्ने कुरा!बल्ल आज चाल पाउँदैछु कि~~मेरो खल्तीमा दैनिक भित्रिने पाँच सय र साल/छ महिनामा बा”को जनैमा बेरिने पाँच सय बीचको जिम्मेवारी मा कति पिर्थक रहेछ भन्ने कुरा!







