रवीन्द्र माकाजू
पोखरा ।
वरीष्ठ कवि, नाटककार बालकृष्ण समले लेखेका छन्–
दुःखीको घरमा मात्र तेरो बास हुने भए
हे ईश्वर दया गरी अझ मलाई दुःख दे ।।
यस्तै दुःखदायी विभत्स घटना घटेको छ पोखराका एक कर्मठ समाजसेवी मदनकाजि श्रेष्ठका जीवनमा । २०७९ साल माघेसक्रान्तिका दिन श्रेष्ठका परिवारमा ठूलो बज्रपात भयो । छोरा, बुहारी, नातिको एउटै चिहान भयो तर यी सबै परिदृश्यलाई आत्मसात गर्दै नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सभापति श्रेष्ठले दिवगंत भएका छोरा, बुहारी, नातिको स्मृतिमा १ करोडको कोष सहितको प्रतिष्ठान खडा गरेर उनीहरुलाई अमर बनाईनुका साथै सामाजिक सेवामा आफूलाई समर्पित गर्ने पवित्र एवम् महान लक्ष्य राखेका छन् ।
वि.सं. २०१३ बैशाख १३ गते पोखराको रामकृष्णटोलमा जन्मिएका श्रेष्ठ आफ्ना परिवारसँग माघेसंक्रान्ति खुशीयालीका साथ मनाउने तयारी गर्दै थिए । यो पर्व मनाउन छोरा बुहारी आफ्ना १५ महिने काखे बालक सहित पोखरा आउँदै थिए । छोरा डा. शुशिलले हामी यति एयरबाट ९ बजे पो्खरा आउँदै छौ भनेर खबर गरेका थिए । छोरीले बाबु मदनकाजिलाई दाइभाउजुलाई लिन एयरपोर्ट जाऊँ भने पछि बाबुछोरी पोखराको नयाँ विमानस्थल हुँइकियौं । जहाजको प्रतिक्षा गर्दै थियौं । टर्मिनल भवनका कारण जहाज लैण्डिङ गरेको भने देखिदैन थियो । छोराले काठमाडौं एयरपोर्टबाट हामीले बोडिङपास लियौ, नौ बजे जहाजमा प्रवेश गर्दैछौ भनेको सम्झे । समयमा जहाजले लैण्डिङ गरेन । केही समय पछि एयरपोर्टबाट दुई दमकल निस्कियो । मदनजीले सम्झे पोखरा बजारमा कतै आगलागी भयो होला । मदनकाजि त्यो दिन सम्झदै भने ।
केही समयपछि एयरपोर्टमा हल्ला चल्यो, प्लेन क्य्रास भयो । मदनको मनमा चिसो पस्यो । कतै यो क्य्रास भएको जहाज यति एयर त होइन ?
एयरपोर्ट नजिकै जहाज खसेको थाहा पाएपछि छोरीले चिच्याउँदै भनिन्– बुबा ! हामी पनि उद्धार गर्न जाऊँ । हामी अघि बढ्यौं । बाटोमा मान्छे नै मान्छे थिए । हामी थुम्कोमा चढेर प्लेन खसेको ठाउँ हेरौं । मैले केही सुर पाइँन । पानी पानी भनि चिच्याएछु । पानी दिने मान्छे कोही भेटिएनन् । केही समयपछि मलाई मेरो ओठमा पानी हालिदिएछ । गण्डकी मेडिकल कलेजबाट ज्वाइ आइपुग्नुभयो । त्यसपछि के भो मलाई थाहा भएन ।
अमेरिकामा भएको जेठो छोरा सुनिललाई कसैले खबर गरिदिएछ । उनी नेपाल आईपुगे । घरमा रुवावासी चल्यो । म र मेरी श्रीमती भीममाया होसमा थिएनौं । दिनभरी रातभरी सुत्थ्यौं, को आए को आएनन् थाहै भएन । हेर्दाहेर्दै घटना घटेको ७ दिन बित्यो । आँखामा आशु सुकिसकेका थिए । आठौं दिन धार्मिक विधिपूर्वक अन्त्येष्टि गरियो । १३ औं दिनमा इष्टमित्र, आफन्त, टोलछिमेकी शुभचिन्तक आई सबैले मौनतापूर्वक सान्त्वना दिए ।

मदनकाजिलाई लाग्यो मान्छे जन्मेर एक दिन अवश्य मर्नुपर्छ । अन्तर के मात्र हो भने कोही अगि कोही पछि । मेरा छोरा डा. शुशिल, बुहारी डा. सोना, नातिले लामो दीघार्यु पाएनन् । तर मैले उनीहरुलाई जीवन्त राख्नका लागि केही न केही गर्नुपर्छ । यसो हुन सक्यो भने उनीहरुको आत्माले शान्ति पाउँछन् । सत्कार्यका कारण उनीहरु युगयुग बाँचिरहन्छन् ।
सामाजिक भावनामा चुर्लुम्म डुबेका मदनकाजिका मनमा यस अघि ५÷१० लाखको एउटा कोष बनाएर सेवाकार्य गर्ने सोच विचार आएको थियो । उनी उपयुक्त समयको प्रतिक्षामा थिए तर ०७९ साल माघे संक्रान्तिका दिन उनका जीवनमा ठूलो आँधीबेरी, हुरीबतास लिएर आयो । अकल्पनीय घटना घट्न गयो । यस दुःखान्त घटनालाई पनि सामना गर्दै सोचे– यी सबै घटनाले मेरो परीक्षा लिइराखेको छ । अब म समाजसेवाका क्षेत्रमा खरो रूपमा उत्रन्छु । मैले बाँकी जीवनलाई परोपकारको क्षेत्रमा खर्चनुपर्दछ ।
श्रेष्ठले आफ्नो जीवनमा ठूल्ठूला सङ्घर्ष गरेका थिए । उनले जागीरका कारण आई.ए र बि.एको परीक्षा प्राइभेटका रूपमा दिएका थिए । एम.एको परीक्षा ठूलो मेहनतका साथ पास गरे । नेपाल राष्ट्र बैंकको सेवामा उनले लगातार २८ वर्ष बिताए । उनी स्वयं बारम्बार स्वास्थ्य उपचारका लागि भारतमा गईरहन्थे । स्वास्थ्य अनुकूल नभएपनि सामाजिक सेवाकार्यमा उनले धेरै समय खर्चे । नेपाल क्षयरोग निवारण सङ्घ, रेयुकाई नेपाल, नेकपा एमालेमा धेरै वर्ष बिताएका श्रेष्ठ अहिले नेपाल कम्युनिष्ठ पार्टी एकिकृत समाजवादीका केन्द्रीय लेखा समितिका सदस्यको भूमिका निर्वाह गर्दैछन् । उनी गण्डकी विकास बैंकका संस्थापक सञ्चालक हुन् भने गण्डकी मेडिकल कलेज सञ्चालक समितिका सदस्य पनि थिए । उनी पोखरा उपत्यका चार विकास समितिका सदस्य भएर पोखराको समग्र विकासमा सक्रिय भएर लागेका थिए ।
पछिल्लो समयमा जुन हृदय विदारक घटनाको अनुभूति गर्दै श्रेष्ठ भन्दछन्– मैले जीवनमा जुन पीडा भोगें त्यस्तो पीडा भविष्यमा कसैले पनि भोग्न नपरोस् । ईश्वरले मलाई वरदान माग भन्यो भने म यही वरदान नै माग्छु । कसैले आँखा अगाडि सन्ततिको वियोग देख्न नपरोस् । सबैका जीवनमा काल त अवश्य आउँछ तर निष्ठुरी, निर्मोही कठोर भई नआवोस् । साथै यस्ता घटना कसैका कमी कमजोरीका कारण भएको भए छानबिन गरी दोषी माथि कारवाही पनि होस् ।
(रबीन्द्र माकाजूको वाल बाट जस्ताको तेस्तै साभार)








