काठमाडौं
सिंहदरबारमा तीन दिनभित्र निजी कम्पनीका बोतल र जारको पानीमा बन्देज लगाउने घोषणा सरकारले गरेको छ । केयुकेएलमार्फत नै सरकारी धारा, ट्यांकर र जारको पानी व्यवस्था गर्ने सरकारी योजना छन् ।
खानेपानीमन्त्री अब्दुस खानले बुधबार पदभार ग्रहण गर्दै सिंहदरबारभित्रका हरेक मन्त्रालयका छतमा ट्यांकी राखेर वा धारा जडान गरेर केयुकेएलअन्तर्गतकै खानेपानीको व्यवस्था गर्ने घोषणा गरेका हुन् । उनले यो काम तीन दिनभित्र गर्न मन्त्रालयका सचिव मणिराम गेलाललाई निर्देशन दिएका छन् । सिंहदरबारभित्र हुने सभा, गोष्ठी, सम्मेलनजस्ता कार्यक्रममा निजी खानेपानी उद्योगबाट खरिद गरिएका बोतल र जारको पानी नल्याउन पनि मन्त्री खानले कर्मचारीलाई निर्देशन दिए ।
‘हामीकहाँ यति धेरै खानेपानी वितरण गर्ने सरकारी संस्था छन्, तर सिंहदरबारमा किन बोतल र जारको पानी किनेर खाइरहेका छौँ ?’ प्रश्न गर्दै उनले निर्देशन दिए, ‘तीन दिनभित्र सचिवज्यूले सिंहदरबारमा केयुकेएल, नेपाल खानेपानी संस्थान र मेलम्चीको पानी ल्याउने व्यवस्था मिलाउनुहोला ।’
तेस्तै सरकारले सिंहदरबारमा बोतल र जारको पानी बन्देज लगाउन थालेको भन्दै नेपाल बोटल वाटर उद्योग संघले आपत्ति जनाएको छ । यदि यो नियम लागू भए बोतल र जारको खानेपानी अत्यावश्यक पर्ने सरकारी निकायमा पनि नपठाउने संघको चेतावनी छ । ‘उपत्यकामा खानेपानीको चुहावट रोक्न छाडेर सरकारले बोतल र जारको पानीमा आँखा लगाउनु राम्रो होइन,’ संघका अध्यक्ष ध्रुव गौतमले भने, ‘यदि यो नियम लागू भए आवश्यक पर्ने अन्य ठाउँमा पनि हामीले बोतल र जारको पानी दिँदैनौँ ।’