सर्लाही ( लालबन्दी ) ।
अस्मिता बि . क
वसन्त पञ्चमीको अवसरमा किसानद्वारा आज हलो र गोरुको पूजा गरिँदै छ। पिँढीदर पिँढीरुपमा किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै आजका दिन एकाबिहानै हलो र गोरुको पूजा गर्दै आएकाले आज एका बिहानै महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका हजारौँ किसानले हलो गोरु पूजा गर्ने गर्छन ।
आज एका बिहानै किसानले आ-आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूल माला, अक्षेता, अबिर, चामल, लड्डुलगायतका वस्तुसहित आँगनमा हलो राखेर पूजाआजा गरिरहेका छन् भने घर बाहिर गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी, माला लगाएर तीनको पूजा गरिरहेका छन्।
त्यस्तै किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजिकैको खेतमा लगेर आज एकछिन जोत्ने चलनअनुसार खेतबारी पनि जोत्नेछन्।
आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलोपटक खेत जोत्न लगाउने तथा बाछोबाट गोरुको रुपमा तयार भइसकेकालाई समेत आजका दिनबाटै गोरु बनाउने चलन रहेको छ ।
किसानले आजका दिन हलोमा धार लगाउने कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औजारहरुलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने गर्दछन्।
श्रीपञ्चमी वा वसन्त पञ्चमीको अवसरमा किसानले अरवा चामलमा सख्खर मिलाएर एक किसिमको कृषि प्रसाद तयार पार्दछन् भने हलो र गोरुको पूजा गरेर हलो जोतेर एक आपसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर यो पूजा सम्पन्न गर्दछन्।
किसान आजका दिनबाट आफ्नो खेतीपाती सुरु भएको समेत मान्दछन् भने आजैका दिनबाट आ-आफ्ना बाँझो खेतबारीसमेत जोत्ने कामको शुभारम्भ गर्दछन्।
हलो गोरु पूजाको अवसरमा गाउँ गाउँमा सयौँ गोरु एक्कैसाथ कुदिरहेको तथा किसानको काँधमा हलो लहरैरुपमा राखेर गइरहेको हेर्दा सबैको मन खुसीले गद्गद् हुन्छ।