जन्मभूमि डट कमका सञ्चालक÷सम्पादक हिमलाल पौडेललाई पोखरा महानगरपालिका वडा नं.२१ का वडाध्यक्ष दीपक सुवेदीले धम्की दिएको घटना प्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । आम जनचासोको विषयमा आफ्ना अभिव्यक्तिहरू अभिव्यक्त गर्दै आएका सम्पादक पौडेललाई बिहीबार छोरेपाटनमा भेटेरै र फोन मार्फत समेत धम्की दिएका वडाध्यक्ष सुवेदीको अराजक शैलीले उनले धारण गरेको सार्वजनिक पदको उपहास र अभिव्यक्ति स्वतन्त्रताको हनन हुन पुगेको छ ।
सिङ्गो वडाको विकासमा समर्पित हुनु पर्ने जिम्मेवार व्यक्ति विकास र सुधारका विषयहरू उठान गर्दा गालीगलौज र धम्कीको शैलीमा प्रस्तुत हुनु शोभीनय विषय हुन सक्दैन । पौडेललाई टेलिफोन गरी वडाध्यक्ष सुवेदीले प्रयोग गरेका तुच्छ र अपमानजनक शब्द र उनको अराजक व्यवहार प्रति हाम्रो सङ्गठन खेद प्रकट गर्दछ । पत्रकारिता मार्फत सामाजिक सचेतिकरण र नागरिक अधिकारको पक्षमा निरन्तर क्रियाशील सम्पादक पौडेल माथि अभिभावकत्व निभाउनु पर्ने वडा अध्यक्ष जस्तो व्यक्तिले आफ्नो दायित्व बिर्सिएर अराजक शैलीमा धम्की दिनु र दुव्र्यवहार गर्नु निन्दनीय कार्य हो ।
हाम्रो सङ्गठन नागरिक आवाजलाई निस्तेज पार्ने शैलीमा प्रस्तुत भएका वडा अध्यक्ष सुवेदीलाई सार्वजनिक रूपमा माफी माग्न र आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण सहित जोडदार माग गर्दछ ।