मंसिर पोखरा ।
गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) ले यहि मंसिर २४ गते संस्थाको लागि जग्गा खरिद तथा भवन निर्माण सहयोगार्थ बृहत जिफान साँझको आयोजना गरिने भएको छ ।
जिफानद्वारा आज पोखरा चिप्लेढुङ्गा स्थित रहेको दि भिलेज क्याफे एण्ड रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलन मार्फत उक्त कार्यक्रम बारे जानकारी गराएको हो ।
कार्यक्रममा तमु (गुरुङ) हरुको मौलिक संस्कार संस्कृति झल्किने खालका विविध साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिने कुरा आयोजकले बताएको छ ।
बिहिबार पोखरामा पत्रकार सम्मेलन बीच जिफानका अध्यक्ष गुन्ज बहादुर गुरुङले संस्थाको जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलन गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागेका हौं । पोखरा सभागृहमा हुन लागेको उक्त कार्यक्रममा गुरुङहरुको सभ्यता र विकासक्रमसँग सम्बन्धित नाटक, लोक तथा पौराणिक नृत्यहरु, गुरुङ चलचित्रका कलाकारहरुको आकर्षक नृत्यहरु प्रस्तुत गरिने कुरा अध्यक्ष गुरुङले बताए ।
प्रेस विज्ञप्तीमा उल्लेख गरे अनुसार झण्डै ३ करोड संकलन गर्ने योजना सहित कार्यक्रम आयोजना गर्न लागिएको र यसमा गुरुङ चलचित्रलाई माया गर्ने सम्पूर्णले साथ दिनेमा आफू विश्वस्त रहेको बताए । संस्थाको आफ्नै भवन निर्माण भएपछि यसबाट निकै लाभान्वित हुने विश्वास लिएको छु निश्चय पनि यसले गुरुङ जातिको भाषा, कला र संस्कृतिको प्रवर्द्धन एवम् संरक्षणमा टेवा पुग्ने छ ।
यसैगरी संस्थाका महासचिव तोल बहादुर गुरुङ (लब्सन) ले पनि जिफानले विभिन्न चलचित्र तथा गीतसंगीत मार्फत गुरुङ समुदायको भाषा, कला र संस्कृतिलाई जोगाउन उल्लेखनीय भूमिका खेलेको बताउँदै स्थापनादेखि हालसम्म यस क्षेत्रबाट आफ्नो कला र संस्कृति जोगाउन लागिपरेका छौं त्यसकारणले पनि हाम्रो योगदानको मुल्यांकन गुरुङको अग्रणी संस्था तमु प्ये ल्हु संघ, तमु धिं नेपाल जस्ता अन्य विभिन्न संघ संस्थाहरुले गर्दै आएको र अब पनि उहाँहरुले हाम्रो यस अभियानमा साथ दिनेमा आफू आशावादी रहेको बताए ।
विधिवत् रुपमा २०६५ सालमा स्थापना भएको जिफानमा हाल सम्म १६० वटा चलचित्र दर्ता भएको छ भने आयोजना गर्न लागिएको मंसिर २४ गतेको बृहत जिफान साँझमा २०५२ साल देखि हालसम्म निर्माण भएर जिफानमा दर्ता भई प्रदर्शन भएका चलचित्रहरुको पोष्टर प्रोजेक्टर तथा बोर्ड मार्फत प्रदर्शन साथै नायक नायिकाको नृत्य प्रस्तुति तथा लोकप्रिय गायक गायिकाद्वारा गीत प्रस्तुत गर्ने कुरा पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।







