पोखरा कात्तिक ।
कास्की जिल्ला क्षेत्र नं २(२) बाट प्रदेश सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका नेता विन्दु कुमार थापाले विगतको पाँच वर्ष गण्डकी प्रदेश सरकारलाई चलायमान बनाउन नीति बनाएको र अब पालो विकास र समृद्धिको भएको बताएका छन् । पोखरा महानगरपालिका वडा नं. ९ का मतदातासँग भेटघाट गर्दै उनले प्रदेश सरकारले बनाएको नीतिमा टेकेर विकासका अवधारणाहरुलाई सहज तरिकाले पुरा गर्ने जिम्मेबारीका साथ आफु चुनावी मैदानमा होमिएको उल्लेख गरे ।
‘हिजो नीति बनाऔं अब पालो विकास र समृद्धिको हो । गण्डकी प्रदेश सरकारलाई चलायमान बनाउन आवश्यक नीति बनिसकेको छ । जसले अब सरकारलाई अगाडि बढ्न सहजता हुनेछ ।’, उनले भने । थापाले अब पनि आफु निर्वाचित भएपछि सरकारबाट प्राप्त गर्ने तलब भत्ता बापतको सेवासुविधा नलिने घोषणा गरेका छन् । ‘मैले २०७४ सालको निर्वाचनमा पनि तलब भत्ता नलिने घोषणा गरेको थिए ।
जसलाई पाँच वर्षे कार्यकाल भरि नै इमानदारिता पूर्वक कार्यान्वयन गरे । अब पनि म कुनै तलब भत्ता सुविधा आफ्नो र परिवारको लागि खर्च गर्ने छैन । सबै सामाजिक सेवामा नै खर्च हुनेछ ।’, उनले भने । सुशासन, पारदर्शिता र भ्रष्टचारमा शुन्य सहनशिलता आफ्नो प्रमुख नारा रहेको अभिव्यक्ति उनको छ । प्रदेशलाई विकासको बाटो तर्फ अग्रसरता दिलाउने गरी आफ्ना योजनाहरु रहेको भनाई उनको छ । शिक्षा, स्वास्थ्य, रोजगार, उद्यमशिलता, कृषि, पर्यटन लगायतका क्षेत्रलाई आत्मसाथ गर्दै भुगोल सुहाउँदो विकासमा लाग्ने प्रतिबद्धता उनको छ ।
उनले आफु सपना बाड्ने उद्देश्य स्वरुप राजनीतिमा नआएको बताएका छन् । प्रदेशको आर्थिक स्तरलाई उकास्ने योजना स्वरुप आफ्ना कदमहरु अगाडि बढेको भनाई उनको छ ।