खानेपानी मन्त्री उमाकान्त चौधरी मेलम्ची खानेपानी आयोजनास्थल अम्बाथान पुगेका छन् । उनले मंगलबार आयोजनाको सुरुङमा पानी पठाएर उद्घाटन गरेका हुन् । यो मेलम्ची खानेपानी आयोजनामा भएको नवौं उद्घाटन हो ।
मन्त्रीले उद्घाटन गरेसँगै सुरुङभित्र प्रतिसेकेण्ड २ सय ६५ लिटर पानी जाने गरी पठान्तरको काम सुरु भएको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले रातोपाटीलाई जानकारी दिए ।
गत असारमा भारी वर्षाका कारण बाढी र पहिरोबाट क्षति पुगेको आयोजना स्थलको मर्मतपछि काठमाडौं आउने सुरुङमा फेरि पानी पठाइएको हो । मन्त्री चौधरीले सुरुङमा पानी पठाए पनि कहिलेदेखि काठमाडाैंमा पानी वितरण हुन्छ भन्ने निश्चित नभएको खानेपानी मन्त्रालयका पदाधिकारी बताउछन् । मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालले मेलम्चीको पानी कहिलेसम्म काठमाडौंमा आइपुग्छ, कहिलेदेखि वितरणको काम हुन्छ त्यसबारे आयोजनाले जानकारी नगराएको बताए ।
काठमाडौंँमा डेढ महिना पानी ल्याउन मन्त्री चौधरी मेलम्चीमा
मंगलबार मन्त्री चौधरीले सुरुङमा पानी पठाउने कामको उद्घाटन गरेपनि आगामी जेठदेखि फेरी पानी पठाउन बन्द गर्ने तयारी रहेको छ । अहिले अस्थायी रुपमा मात्र पानी हालिएको र वर्षा सुरु भएपछि ४ महिना पानी पठाउन बन्द गरिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
अहिले प्रतिसेकेण्ड २ सय ६५ लिटर पानी सुरुङमा पठाएको पानी काठमाडौंको सुन्दरीजल आइपुग्न १५ दिन लाग्ने आयोजनाका सिनियर डिभिजनल इन्जिनियर कुँवरले जानकारी दिए । काठमाडौंँमा पानी आइपुगेको २ दिनपछि पानी वितरणका लागि तयार हुने उनले बताए । त्यसपछि पानी कसरी र कहिलेदेखि बितरण गर्ने भन्ने काम काठमाडौं उपत्यका खानेपानी लिमिटेडको भएको उनले बताए । आज सुरुङमा पठाइएको पानी वैशाख १४ गते काठमाडौं आइपुग्ने छ । वैशाख १६ गतेसम्म सुन्दरीजल प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पुग्ने छ । काठमाडौंँमा यसरी पानी आइपुगेको झन्डै ४० दिनपछि फेरी मेलम्चीको सुरुङमा पानी पठाउन बन्द गरिने योजना रहेको छ । आगामी जेठ २५ गतेदेखि सुरुङमा पानी पठाउन बन्द गर्ने मेलम्ची खानेपानी आयोजनाको भनाइ छ ।
खोलामा धमिलो पानी आउन थालेदेखि नै सुरुङमा पानी पठाउन बन्द गर्नुपर्ने आयोजनाका प्रवक्ता पन्तले बताए । उनले भने–‘खोलामा धमिलो पानी आउन थालेदेखिनै सुरुङमा पानी पठाउन बन्द गर्नुपर्ने हुन्छ । धमिलो पानी पठाउँदा बालुवा, लेदोले सुरुङमा समस्या पार्न सक्छ । सफा पानी बगुञ्जेलसम्म मात्र सुरुङम पानी पठाइनेछ ।’ मौसमको अवस्था अनुसार जेठ २५ अघि नै वा वर्षात सुरु हुने एकसाता अघिदेखि मौसमविद्को सुझावमा सुरुङमा पानी पठाउन बन्द गरिनेछ । असारदेखि झन्डै ४ महिना सुरुङ्मा पानी पठाउन बन्द गरिने कुँवरले जानकारी दिए । तर आयोजना स्थलमा गर्नुपर्ने भौतिक पूर्वाधार निर्माणको काम भने जारी रहने उनले बताए ।
२०७७ चैत १५ गतेदेखि काठमाडौं उपत्यकाको चक्रपथभित्रका क्षेत्रमा परीक्षणका रूपमा मेलम्चीको पानी वितरण थालिएको थियो । सुरुमा दैनिक ४ करोड लिटर पानी ल्याइएकोमा त्यसलाई बढाउँदै दैनिक ८ करोड लिटरसम्म वितरण गरिएको थियो ।
मेलम्ची खानेपानी आयोजनाको कहिले–कहिले कस्ले गरे उद्घाटन
१)२०७४ साल चैत २९ गते मेलम्ची खानेपानी आयोजना सुरुङ ब्रेक थ्रुको उपराष्ट्रपति नन्दबहादुर पुनले सुरुङभित्रै उद्घाटन गरेका थिए ।
२) २०७६ चैत ३ गते खानेपानी मन्त्री बिना मगरले पहिलोपटक सुरुङमा पानी पठाएर परिक्षण कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।
३) २०७७ असार २१ गते सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्विच थिचेर मेलम्ची सुरुङमा पानी परिक्षणका पठाई उद्घाटन गरेका थिए । विना पूर्व तयारी र आवश्यक सावधानी नअपनाउँदा २०७७ असार ३० गते सुरुङको ढोका फुटेर उत्पन्न भएको बाढीमा परि आयोजनाका काम गर्ने २ कर्मचारीले ज्यान गुमाएका थिए ।
४) २०७७ फागुन १० गते तत्कालीन खानेपानी मन्त्री मणी थापा, सहरी विकास मन्त्री रामवीर मानन्धर, सांसद शेरबहादुर तामाङ् लगायतले एकैसाथ स्विच थिचेर मेलम्चीको सुरुङमा पानी पठाई उद्घाटन गरेका थिए ।
५) २०७७ फागुन २२ गते काठमाडौंको सुन्दरीजलमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजलबाट स्विच थिचेर मेलम्चीबाट काठमाडौं आइपुगेको पानीको उद्घाटन गरेका थिए ।
६) २०७७ चैत १५ गते केयुकेएल चावहिल महाङ्काल शाखाले सुरुङबाट ट्याङ्कीमा जम्मा भएको पानी बितरण प्रणालीमा पठाउन ट्याङ्कीको भल्भ खोलेर उद्घाटन भएको थियो । केयूकेयलका कार्यकारी निर्देशक मिलन कुमार शाक्य, काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणा, महाङ्कल चौर शाखा प्रमुख उमेश मरहट्टा र खानेपानी सञ्चालन विभाग प्रमुख सतिश दत्तले एकसाथ उद्घाटन गरेका थिए ।
७) २०७७ चैत २० गते काठमाडौंंको भृकुटीमण्डपमा भव्य कार्यक्रमबीच राष्ट्रपति बिद्या भण्डारीले मेलम्ची खानेपानी वितरणको उद्घाटन गरेकी थिइन् ।
८) २०८८ चैत १९ गते खानेपानी मन्त्री उमाकान्त चौधरीले बाढीले क्षति पु¥याएको संरचना मर्मतपछि मेलम्चीको डाइभर्सन सुरुङमा पानी पठाउन शुभारम्भ गरेका थिए ।
९) र २०७८ चैत २९ गते खानेपानी मन्त्री उमाकान्त चौधरीले सुरुङमा परिक्षणका लागि पानी पठाई उद्घाटन गरेका छन् ।
source: Ratopati







