• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

ग्यास प्रतिस्थापन गर्न प्रत्येक घरधुरीलाई नि:शुल्क विद्युतीय चुल्हो : माओवादीको प्रतिबद्धता


  •    संवाददाता/ बिहिबार, चैत २४, २०७८  

  • नेकपा (माओवादी केन्द्र)ले आगामी निर्वाचनलाई भौतिक उत्प्रेरणाको प्रभावमा नपरी सही नीति र नेतृत्वको छनोट गर्दै समाजवादउन्मुख समृद्धिको बाटोमा अगाडि बढ्न आम मतदातामा अपिल गरेको छ ।

    स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा आज विशेष अपिल सार्वजनिक गर्दै माओवादीले नीति र नेतृत्वबीचको अन्तरविरोधका कारण समस्या पैदा भएकाले सही नीति बोक्ने नेतृत्वलाई विजयी गराउन आग्रह गरेको हो ।

    एकाधिकारबाट पीडित, निराश र निमुखा बन्दै गएका जनसमुदायको विशाल हिस्सालाई आर्थिक सामाजिक विकासको साझेदार बनाउने र उनीहरूलाई प्रतिफलको हिस्सेदारसमेत बनाउने आफूहरूको विकास मोडेलबाट नै समाजवादउन्मुख समृद्धि सम्भव हुने माओवादीले अपिलमा भनेको छ ।

    स्वाधीन र सार्वभौम राष्ट्रले मात्र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न सक्ने भन्दै माओवादीले आधारभूत स्वास्थ्य सेवा र विद्यालय शिक्षा निःशुल्क प्रदान, खाद्य सुरक्षा, आवास, रोजगारी, स्वच्छ वातावरण, जातीय, क्षेत्रीय एवं लैंगिक समानतालगायतका मौलिक हक समाजवादोन्मुख समृद्धिको अभियानसँगै पूर्णरूपले कार्यान्वयन हुँदै जाने विश्वास दिलाएको छ । जनक्रान्तिको रक्षा, राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र सामाजिक न्यायसहितको आर्थिक विकासका लागि आफूहरूको नेतृत्व वर्तमानको अपरिहार्यता हुन गइरहेको माओवादीले दाबी गरेको छ ।

    माओवादीले ‘समाजवाद उन्मुख समृद्धि : आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि’, ‘एक पालिका, एक विशेष उत्पादन, एक वडा एक विशेष पहिचान’ नारा अघि सार्दै आफ्नो प्रतिबद्धतासमेत सार्वजनिक गरेको छ । सार्वजनिक, सामुदायिक (सहकारी) र निजी क्षेत्रको पहलकदमी र सहकार्यमा आधारित आर्थिक विकासको मोडेलबाट समाजवादोन्मुख समृद्धिको परिकल्पना गरिएको माओवादीले जनाएको छ । “नागरिकका आधारभूत आवश्यकताको परिपूर्ति र गरिबी निवारण, वस्तु तथा सेवाको सहज आपूर्ति, उत्पादनमुखी अर्थव्यवस्थाको निर्माण, रोजगारीका अवसरको सिर्जना, विचौलियाको भूमिकालाई न्यूनीकरण, वातावरणमैत्री विकास पूर्वाधार, आर्थिक सामाजिक तथा वातावरणीय विकासको सन्तुलन आदि हाम्रो विकास नीति र प्राथमिकता हुन्,” अपिलमा भनिएको छ ।

    समूह, सहकारी, परिवारमार्फत आमजनतालाई आर्थिक विकासको साझेदार बनाउनु र प्रतिफलमा यथोचित प्रतिफलको सुनिश्चितता गर्दै समृद्ध र समानतामूलक समाज निर्माण आर्थिक विकासको केन्द्रीय सार रहेको उल्लेख गर्दै माओवादीले स्थानीय तहको प्रभावकारितालाई बढाउँदै समाजवादोन्मुख समृद्धिको दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    माओवादीले कृषिमा आमूल सुधार, उद्यमशीलता विकास गरी रोजगारी सिर्जना, आधारभूत स्वास्थ्य सेवा निःशुल्क, निःशुल्क र गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

    माओवादीले अगाडि सारेका प्रतिबद्धता :
    (१) अर्थतन्त्रको प्रमुख आधार : कृषिमा आमूल सुधार

    –कृषिको आधुनिकीकरणसहित रूपान्तरणका लागि भूमिको उचित व्यवस्थापन, सिँचाइको उचित व्यवस्था, कृषिको यान्त्रिकीकरण र व्यावसायीकरण, साना मझौला किसानको सहकारी सङ्गठन र समूहहरूको निर्माण, ठूलो परिमाणको उत्पादनसहित मूल्य अभिवृद्धि शृङ्खलामा जोड दिइने छ ।

    –कृषिउपजको समर्थन मूल्य तोकिने छ । हरेक पालिकामा शीत भण्डार, सङ्कलन तथा प्रशोधन केन्द्र र कृषि बजारको व्यवस्था गरिने छ ।

    –प्रत्येक कृषि पेसामा संलग्न किसानलाई किसान परिचय–पत्र, कृषक पेन्सनको व्यवस्था गरिने छ र कृषिमा आमूल रूपान्तरणका लागि सहुलियत ऋण र अनुदान, व्यावसायिक तालिम, प्रविधि र प्राविधिक जनशक्ति र बजारीकरणमा आवश्यक सहुलियतको व्यवस्था गरिने छ ।

    (२) उद्यमशीलताको विकास–रोजगारीको विस्तार

    –कृषि, वन, खनिज पर्यटनलगायतको क्षेत्रसँग सम्बन्धित स्रोत साधनको उचित सदुपयोग गर्दै साना–मझौला उद्यम व्यवसायद्वारा रोजगारीका अवसर सिर्जना गरिने छ । यसका लागि टोलटोलमा सहकारी–घरघरमा रोजगारीको व्यवस्था गरिने छ ।

    –एक टोल एक उद्यम, एक टोल एक उत्पादन, बेरोजगारीको अन्त्य, गरिबीको निवारण कार्यक्रम लागू गरिने छ ।

    –हरेक पालिकामा बेरोजगारको सूची तयार गरी बेरोजगार लक्षित उत्पादनका कार्यक्रम सुरु गरिने छ । यसका साथै सीपमूलक तालिम, परियोजना वा प्रमाणपत्र धितो राखी सहुलियत ऋणको व्यवस्थाको लागि स्थानीय तहले सहजीकरण गर्नेछ । उत्पादन वृद्धि र बजारीकरणको निम्ति प्रोत्साहित गरिने छ ।

    (३) आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता

    –आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनेछ ।

    –सबै नगर÷गाउँ पालिकामा आधारभूत अस्पताल र सबै वडामा स्वास्थ्य केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गरिने छ ।

    –आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउन ११० प्रकारका औषधि निःशुल्क वितरण गरिने छ ।

    –विशेषज्ञ सेवाका लागि स्थानीय तहको समेत सहभागितामा स्वास्थ्य बीमा सेवाको प्रबन्ध गरिने छ ।

    –औषधिजन्य जडीबुटीको प्रशोधन गरी औषधि उत्पादनमा जोड दिइने छ ।

    (४) निःशुल्क र गुणस्तरीय विद्यालय शिक्षा

    –विद्यालय (१२ कक्षासम्म) निःशुल्क शिक्षाको व्यवस्था गरिने छ ।

    –हरेक नगर तथा गाउँ पालिकामा बहुप्राविधिक शिक्षालय सञ्चालन गरिने छ । १० प्रतिशत प्राविधिक जनशक्ति उत्पादन गरिने छ ।

    –छोटो अवधिभर मध्यम खालको सीपमूलक तालिमको व्यवस्था गरिने छ ।

    –हिमाली भेकका सबै पालिकाहरूमा आवासीय विद्यालयको व्यवस्था (१२ कक्षासम्म) गरिने छ ।

    –दरबन्दीअनुसार शिक्षकको व्यवस्था गरिने छ ।

    –भौतिक पूर्वाधार र सूचना प्रविधिसँग जोडिने व्यवस्था मिलाइने छ ।

    (५) वन तथा जैविक विविधता : समृद्धिका लागि वन कार्यक्रम

    –काष्ठ, गैरकाष्ठ, जडीबुटीमा आधारित उद्यमशीलताको विकासका लागि ‘समृद्धिको लागि वन’ कार्यक्रम सञ्चालन गरिने छ ।

    –हरेक पालिकामा न्यूनतम एउटा काष्ठ, गैरकाष्ठ वा जडीबुटी प्रशोधन उद्योग स्थापना गरिने छ ।

    –‘एक सामुदायिक वन एक उद्यम’ कार्यक्रम सञ्चालन गरिने छ ।

    –हरेक पालिकामा जलवायु परिवर्तन अनुकूलित नमूना गाउँ निर्माण गरिने छ ।

    –वनरहित स्थानीय तहहरूमा वृक्षरोपणको विशेष कार्यक्रम सञ्चालन गरिने छ ।

    –सहरी वन कार्यक्रम लागू गरिने छ ।

    –प्रदूषण नियन्त्रण, हरियाली प्रर्वद्धन र फोहोर मैला व्यवस्थापनका लागि स्वच्छ वातावरण अभियान हरेक पालिकामा चलाइने छ ।

    –वन सम्पदालगायत प्राकृतिक स्रोत साधनमाथि समुदायको अग्राधिकारलाई सुनिश्चित गरिने छ । सामुदायिक वन उपभोक्त समूहहरूलाई थप सबलीकरण गरिने छ ।

    (६) भौतिक पूर्वाधार : वातावरण मैत्री पूर्वाधार, दिगो विकासको आधार

    –सबै पालिकाको केन्द्रसम्म कालोपत्रे सडक निर्माण गरी राष्ट्रिय सडक सञ्जालमा जोड्ने व्यवस्था मिलाइने छ ।

    –सबै वडाका केन्द्रसम्म सबै मौसममा यातायात चल्न सक्ने सडकको निर्माण गरिने छ ।

    –सबै वडामा विद्युतीकरणको व्यवस्था मिलाइने छ ।

    –सबै वडामा सञ्चार सुविधाको विस्तार गरिने छ ।

    –‘नेपालको पानी, जनताको लगानी’को नारालाई जनस्तरसम्म कार्यक्रम बनाई लागू गरिने छ ।

    –एलपी ग्यासको आयात प्रतिस्थापन गर्न र जनतामा विद्युत्को उपभोग बढाउन स्थानीय सरकारद्वारा प्रत्येक घरधुरीलाई विद्युतीय चुलो निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।

    (७) पर्यटन तथा उद्योग : पर्यटनको प्रतिफल गाउँ–गाउँमा पुर्‍याउन, नयाँ पर्यटकीय गन्तव्यको पहिचान

    –पर्यटकीय पदमार्गको विस्तार र पर्यापर्यटनको विकासमा जोड दिइने छ ।

    –होमस्टेलगायत पर्यटनमैत्री वस्तु उत्पादन गरी आयआर्जनमा टेवा पुर्‍याइने छ ।

    –पर्यटनबाट हुने आयको न्यूनतम ५० प्रतिशत सम्बन्धित स्थानीय तहमा खर्च गर्ने व्यवस्था गरिने छ ।

           साभार रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    ताजा अपडेट
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    • “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.