सत्तारुढ गठबन्धनले कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनमा प्यानलै जित्ने संकेत देखिएको छ । गठबन्धनमा भोट क्रस हुनसक्ने अनुमानलाई गलत सावित गर्दै अध्यक्ष,महासचिवसहित सबै पदमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका हुन् ।
मतगणनाको पछिल्लो परिणामअनुसार अध्यक्षका प्रत्यासी काँग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) का गोपालकृष्ण घिमिरेले ९३२ मतसहित अग्रता लिएका छन् । निकटतम प्रतिस्पर्धी एमाले सम्बद्ध प्रोग्रेसिभ प्रोफेसनल लयर्स एशोसिएसन (पिपिएलए) का उम्मेदवार विष्णुमणि अधिकारीले ४६३ मत पाएका छन् ।
महासचिवमा पनि गठबन्धनकै उम्मेदवारको अग्रता छ । माओवादी केन्द्र निकट आरपीएलएबाट महासचिवको उम्मेदवार बनेकी अञ्जिता खनालले ८३६ मत पाउँदा पिपिएलएका केदारप्रसाद कोइरालाले ५५० मत ल्याएका छन् ।
त्यसैगरी सात वटै प्रदेशबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा सबै गठबन्धनका उम्मेदवार अगाडि छन् ।
बारको २६ औँ केन्द्रीय कार्यसमितिका लागि चैत १९ गते काठमाडौंसहित देशभरका ३५ स्थानमा मतदान भएको थियो । सबै स्थानको मतपेटिका सोमबार काठमाडौं केन्द्रमा ल्याएर हिजो बिहानदेखि गणना शुरु भएको हो । ११ पदाधिकारीसहित २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ वकिलहरु मतदान प्रक्रियामा सहभागी भएका थिए ।