भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको मुख्य दोषी देखिएका पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार नयाँ सरकार गठन भएलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै ओलीलाई शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निजी निवासबाट जरुरी पक्राउ पुर्जी थमाउँदै नियन्त्रणमा लिइएको हो।
जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओलीलाई ‘फौजदारी लापरबाही’ र ‘हेलचेक्र्याइँ’ गरेको गम्भीर आरोप लगाइएको छ। प्रतिवेदनका अनुसार भदौ २३ गते बानेश्वरमा झन्डै चार घण्टासम्म सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउँदा र दर्जनौँ युवाहरू हताहत हुँदा पनि कार्यकारी प्रमुखको हैसियतमा ओलीले स्थिति नियन्त्रण गर्न वा ‘सिज फायर’ को आदेश दिन कुनै प्रभावकारी पहल गरेनन्।








