मनखुशी फाउण्डेशन नेपाल, गण्डकी प्रदेशको आयोजनामा तीन दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
शुक्रबारदेखि सुरु भएको तालिमको आइतबार समापन गर्दै पोखरा महानगरपालिका वडा नं. १३ की वडा सदस्य कृष्णकुमारी गुरुङले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । गोर्खाली रेडियो १०६ मेगाहर्जको सहयोग तथा पोखरा महानगरपालिका वडा नं. १३, टावरमार्ग टोल विकास संस्थाको व्यवस्थापनमा भएको तालिममा ३२ जना प्रशिक्षार्थी सहभागी थिए ।
तीन दिनसम्म चलेको तालिममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशकी उपाध्यक्ष खिमा गुरुङले सहजीकरण गर्नुभएको थियो । मनखुशी फाउण्डेशन, गण्डकी प्रदेशकी संयोजक काशी गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन दीपक अधिकारीले गर्नुभएको थियो भने नन्दमाया सुवेदी पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । यसअघि, तालिमको उद्घाटन पोखरा–१३ का वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा)ले गर्नुभएको थियो ।