११ वर्ष लामो कैद भुक्तान गरी थुनामुक्त भएको केही समयमै फेरि चोरी धन्दामा संलग्न भएका एक व्यक्तिसहित दुई जनालाई प्रहरीले सुनचाँदीका गरगहनासहित पक्राउ गरेको छ।
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ६, सिद्धिपुरस्थित कृष्ण प्रसाद श्रेष्ठको घरमा गत चैत ३ गते ठुलो परिमाणमा सुनचाँदीका गरगहना चोरी भएको थियो। दिउँसै भएको उक्त लुटपाटपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो।
प्रहरीको विशेष टोलीले खोजतलास गर्दै जाँदा चोरीमा संलग्न मुख्य योजनाकार र सहयोगीलाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिन सफल भयो। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौँको मनोहरा बस्ने ३२ वर्षीय प्रेम लामा र दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ घर भई हाल कागेश्वरी मनोहरा बस्ने ३२ वर्षकै सजन कुमार श्रेष्ठ रहेका छन्।
पक्राउ परेकामध्ये प्रेम लामा ‘सिरियल चोर’ रहेको खुलेको छ। उनले यसअघि पनि पटक-पटक चोरी तथा डकैती मुद्दामा जेल सजाय काटिसकेका छन्। विभिन्न समयमा गरी कूल ११ वर्ष कैद भुक्तान गरेर हालै मात्र जेलबाट छुटेका लामाले बाहिर आउनेबित्तिकै फेरि आफ्नो पुरानै पेसालाई निरन्तरता दिएको प्रहरी अनुसन्धानबाट देखिएको छ। कारागारको लामो बसाइले पनि उनमा कुनै सुधार नआएको र जेलबाट निस्कनासाथ पुनः आपराधिक क्रियाकलापमा सक्रिय भएको पाइएपछि अनुसन्धान अधिकारीहरू समेत अचम्मित भएका छन्।
रातोपाटि बाट साभार








