कल्पना गर्नुहोस् – सात वर्षसम्मको माया, विश्वास, सपना र सँगै बिताएका पलहरू… अनि एउटा कोर्ट म्यारिजले सबैलाई वैधानिक बनाउने आशा। तर दाइजो नपाएपछि त्यही माया र विवाहलाई ‘रद्द’ गरेर फरार हुने?
यो कथा हो वीर अस्पतालका चिकित्सक मो. ओजिर देवान र उनकी प्रेमिकाको।
गत वर्ष मंसिर १४ मा कोर्ट म्यारिज गरेपछि उनीहरू काठमाडाँ ढल्कुमा सँगै बस्न थाले। विवाहअघि नै युवतीले फर्निचर र कपडाका लागि ओजिरको खातामा ४ लाख रुपैयाँ ट्रान्सफर गरिन् – यो उनको माया र विश्वासको प्रमाण थियो।
तर समस्या तब सुरु भयो जब ओजिरका दाइ केदारबाबु रौतहटबाट काठमाडौं आए। उनीहरूले डाक्टर पढेको खर्च, स्कोरपियो गाडी र २० लाख रुपैयाँ मागे। माग पूरा नभएपछि विवाह रद्द गरियो, ओजिर सम्पर्कविहीन भए। युवती एक्लै छोडिइन् – मन टुक्रिएको, आत्मसम्मानमा चोट पुगेको अवस्थामा।
यसबीच प्रहरीमा वैवाहिक बलात्कारको उजुरी पनि परेको छ। अब काठमाडौं जिल्ला अदालतमा विवाहमा लेनदेन गर्न नहुने कसुर अन्तर्गत मुद्दा दायर भएको छ। ओजिर फरार छन्, भने दाइ केदारबाबु (पर्साको छिपहरमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत) लाई पक्राउ गरी बयान लिएपछि हाजिरी जमानीमा छाडिएको छ। केदारबाबुले दाइजो नमागेको दाबी गरेका छन्।








