राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित तीन सांसदविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित धनेन्द्र कार्की, उदयपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सूर्यबहादुर तामाङ र पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित बुद्धिप्रसाद पन्तविरुद्ध आज रिट दर्ता गरिएको छ ।
कार्कीविरुद्ध उनी निर्वाचित क्षेत्रका एमाले उम्मेदवार प्रदिपकुमार कटुवाल र तामाङविरुद्ध उनी निर्वाचित क्षेत्रका एमाले उम्मेदवार अम्बरबहादुर रायमाझीले रिट दर्ता गरेका हुन् । रिट उनीहरुको वारेस युवराज पौडेल सफलले दर्ता गरेका हुन् ।
त्यस्तै पन्तविरुद्ध पनि उनी निर्वाचित क्षेत्रका एमाले उम्मेदवार प्रदिप यादवले सुरेन्द्र चौधरी (वारेस)मार्फत् रिट दर्ता गरेका छन् । उनीहरु सबैको रिट दर्ता भइसकेको र चैत २५ गते पेशी तोकिएको सर्वोच्चका उपरजिष्ट्रार निराजन पाण्डेले पुष्टी गरे ।
प्रतिवादी तीन जना नै कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको र निर्वाचन आयोगलाई भ्रममा राखेर उम्मेदवार बनेको निवेदनमा दाबी गरिएको छ । कार्की, तामाङ र पन्तलाई निर्वाचित घोषणा गर्ने निर्वाचन आयोगको निर्णय बदर गर्नुपर्ने र निकटतम प्रतिस्पर्धीलाई विजयी घोषणा गर्नुपर्ने माग निवेदनमा उल्लेख छ ।








