टिकटकले नेपालमा कारोबार गरेबापतको मूल्य अभिवृद्धि कर (भ्याट) नतिर्ने अडान राखेको छ । दुई आर्थिक वर्ष ०८०/८१ र ०८१/८२ मा लगातार कुल एक करोड ३६ लाख भ्याट तिरेको टिकटकले उप्रान्त नतिर्ने जनाएको हो । चालू आव ०८२/८३ मा टिकटक प्रालिले एक पैसा पनि भ्याट तिरेको छैन ।
फागुन मसान्तसम्म पनि नतिरेपछि ठुला करदाता कार्यालयले मंगलबार टिकटकका नेपालस्थित प्रतिनिधिलाई बोलाएको थियो । टिकटकका प्रतिनिधिका रूपमा बिक्की अग्रवाल कार्यालयमा उपस्थित भए । तर, उनले गुगल र एप्पलले तिर्ने भ्याटमा टिकटकको कर समेटिने दाबी गर्दै छुट्टै भ्याट नतिर्ने अडान राखेको प्रमुख कर प्रशासक केदारनाथ शर्माले जानकारी दिए ।
‘टिकटक एप डाउनलोड गर्ने प्लाटफर्म गुगलको प्ले स्टोर र एप्पलको एप स्टोरका आधारमा दुवै कम्पनीहरूले भ्याट तिर्दै आइरहेकाले भ्याट नतिर्नुपर्ने दाबी उहाँले गर्नुभएको छ । यसलाई पुष्टि गर्ने आधिकारिक कागजात पेस गर्न भनेका छौँ । केही दिनमा उहाँहरूले यसलाई पुष्टि गर्ने कागजात पेस गर्छु भन्नुभएको छ । हामीले विद्यमान कानुन र कार्यविधि हेरेर आवश्यक निर्णय लिनेछौँ,’ शर्माले भने । टिकटकका प्रतिनिधि अग्रवालले आफूहरूले प्रत्यक्ष रूपमा विद्युतीय सेवा कर (डिएसटी) तिरे पनि भ्याट आफ्नो दायित्वमा नपर्ने तर्क राखेको शर्माको भनाइ छ । तर, कर कार्यालयले भने यसलाई सहज नमानेकाले थप जाँचबुझ गर्ने बताएको छ
नयापत्रिका बाट साभार








