आउँदो वर्षको वैशाख एक गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । यो वर्षको चैत महिनाभित्रमा पढाइ पूरा गर्ने र आउँदो वैशाख महिनाभित्रै परीक्षाफल प्रकाशन तथा जेठ १ गतेदेखि पढाइ सुरु गर्ने शिक्षा मन्त्रालयको निर्देशन छ । सोही निर्देशन अनुसार आउँदो वैशाखमा भर्ना अभियान संचालन गर्ने तयारी गरिएको छ । पढ्ने उमेरका सबै बालबालिका विद्यालयको जाऊन् भन्ने उदेश्यले भर्ना अभियान सुरु हुन लागेको हो । तर, भर्ना अभियान सीमान्तकृतका झुपडी तथा निकृष्ट बालश्रममा रहेकाहरुसम्म पुग्दै–पुग्दैन । करवलले भर्ना हुन पाएकाहरुले पनि नियमित विद्यालय जान पाउँदैनन् । कतिसम्म भने भर्ना अभियान लिएर घरमा पुग्दा बालश्रमिकलाई लुकाउनेसम्ममा गतिविधि हुन्छन् ।
भर्ना अभियान सुरु हुनैलाग्दा पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको बालश्रम न्यूनीकरण कार्यक्रमले पोखरामा रहेका विभिन्न सरकारी विद्यालयका प्राचार्य तथा सहप्राचार्यसँग छलफल गरेको छ । किडासा नामक गैरसरकारी संस्थासँगको सहकार्यमा भएको छलफल शिक्षाको पहुँचभन्दा बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयसम्म ल्याउने र उनीहरुको पढाइ निरन्तर गर्ने विषयमा केन्द्रीत थियो ।
सो अवसरमा बोल्दै पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष नारायण कोइरालाले बालश्रम न्यूनीकरणको लागि सामूहिक अभियान जरुरी रहेको बताए । श्रम क्षेत्रमा रहेका बालबालिकाहरुलाई विद्यालयको शिक्षासँगै प्राविधिक तथा जीवनपयोगी शिक्षासमेत दिन सकिए उनीहरु आत्मनिर्भर हुने उनको धारणा थियो । संघअन्तर्गतको बालश्रम न्यूनीकरण कार्यक्रले श्रमिक परिवार तथा बालबालिकाको शिक्षाको लागि गरेका गतिविधिहरुले सकारात्मक परिणाम दिएको बताउँदै उनले जीवनपयोगी तालिम दिन संघ तयार रहेको जानकारी दिए ।
पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले अभिभावकको चेतनास्तर कम हुँदा विद्यालय नपठाउने र बालबालिकाहरुले पढाइ छाड्ने समस्या देदिएको बताए । उनले विभिन्न संघ÷संस्थाले आफू अनुकूल तथ्याङ्कहरु तयार पार्ने गरेको आरोप लगाउँदै विद्यालयले राखेको तथ्याङ्कलाई आधार मानेर महानगरले काम गरिरहेको बताए । उनले श्रमिक परिवारका बालबालिकाहरुको लागि महानगरले प्रोत्साहनका कार्यक्रम संचालन गरिरहेको बताउँदै थप सहयोग पनि गरिने प्रतिवद्धता व्यक्त गरे ।
किडासाका प्रमुख रमेश बास्तोलाले कोभिडकालीन समयमा सीमान्तकृत बालबालिकाले भोग्नुपरेको समस्याको चर्चा गर्दै सो समयमा स्कूल छाडेका बालबालिकाहरुलाई पुनः विद्यालय फर्काउनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी विद्यालयका प्राचार्य तथा सहप्राचार्यहरुले घरेलु श्रमिकहरुले बिहान बेलुका घरकै काम गर्नुृपर्ने र विद्यालय समयको पढाइले मात्रै उनीहरुको शैक्षिक स्तर उक्सने अनुभव सुनाए । श्रमिक परिवारबाट विद्यालय आउने बालबालिकाहरुमा मानशिक तथा पारिवारिक समस्या हुने गरेको र कतिपयको अभिभावक नै को हो भन्नेसम्म थाहा नहुने गरेको पनि उनीहरुले सुनाएका थिए । बालबालिकाहरुलाई नियमित विद्यालय आउने वातावरण बनाउने घर सुधार्नुपर्ने उनीहरुको सुझाव थियो । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको बालश्रम न्यूनीकरण कार्यक्रमकी कार्यक्रम संयोजक प्रिति पाण्डेका अनुसार अघिल्लो वर्ष श्रमिकहरुको बाक्लो बस्ती रहेको १२ ठाउँमा गरिएको अध्ययन अनुसार ८०९ जना बालबालिका विद्यालय जाने उमेरका थिए । न्यून आय भएको परिवारका ती बालबालिकामध्ये ७८६ जना सरकारी र १३ जना निजी स्कूलमा भर्ना भएकोमा ९७ जना विद्यालय नै नगएको पाइएको थियो ।
‘दयनीय आर्थिक अवस्था,अभिभावकहरुमा चेतनाको कमी हुनुजस्ता समस्या देखिएका छन्’,उनले भनिन्,‘तीमध्ये अधिकांशमा त पढाइप्रति कुनै रुचि नै छैन ।’कोभिडकालीन समयमा त खानाकै अभावले अधिकांश विद्यार्थी विद्यालय नगएको पनि उनले दावी गरिन् । विद्यालय जाने उमेर समूहमध्ये ४५ प्रतिशत अभिभावकको आम्दानीको स्रोत दैनिक ज्याला मजदुरी रहेको र काम नपाउँदा उनीहरु भोकै परेको तथ्य पनि उनले प्रस्तुत गरिन् । श्रमिक परिवारका बालबालिकालाई नियमित विद्यालय जाने वातावरण बनाउन तथा उनीहरुमा पढाइप्रति लगाव बढाउन विभिन्न कार्यक्रम संचालन गरिएको पनि उनको भनाइ थियो । विद्यालय भर्ना अभियान सुरु हुनैलाग्दा श्रममा आश्रित परिवारमा रहेका तथा घरेलु बालश्रमिक लक्षित भर्ना अभियान संचालन गर्नुपर्नेमा उनको जोड छ ।