कुनै समय पशुपति क्षेत्रमा मागेर भोक टार्ने र कुमारीगालको एउटा साँघुरो कोठामा बोरा ओछ्याएर सुत्ने ती सानी बालिका आज नेपाल एसबिआई बैंकमा एक सफल अधिकृत (Officer) का रूपमा कार्यरत छिन्। काभ्रेपलाञ्चोकको पात्लेखेलमा जन्मिएकी पार्वतीको परिवार साहुको ऋणका कारण सर्वस्व गुमाएर काठमाडौं विस्थापित भएको थियो।
सात भाइबहिनी र आमाका साथमा काठमाडौं आएकी पार्वतीको बाल्यकाल चरम गरिबीमा बित्यो। बिहान-बेलुकीको छाक टार्न उनी पशुपति मन्दिर अगाडि चामल माग्न बस्थिन् भने कहिलेकाहीँ गुह्वेश्वरीका भोजभतेरमा बचेखुचेको खानेकुरा खाएर भोक मेटाउँथिन्। १० वर्षको उमेरसम्म अक्षर समेत चिन्न नपाएकी उनले परिवार पाल्नकै लागि गलैंचा कारखानामा बालश्रमिकका रूपमा काम गरिन्, जहाँ ऊन कात्दा उनका कलिला हातहरू चरचर फुट्थे।
एक संस्थाले गलैंचा कारखानाबाट उद्धार गरेपछि पार्वतीको जीवनमा शिक्षाको ढोका खुल्यो। पढाइमा निकै अब्बल उनले ढिलो स्कुल भर्ना भए पनि मेहनतका साथ एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरिन्। आर्थिक अभावकै कारण डाक्टर बन्ने सपना अधुरै रहे पनि उनले हार मानिनन्। म्यानपावरमा काम गर्दै र ट्युसन पढाउँदै उनले व्यवस्थापनमा स्नातक पुरा गरिन् र बैंकिङ क्षेत्रमा प्रवेश गरिन्।
आज पार्वती काठमाडौंमा आफ्नै घर जोड्न सफल भएकी छिन् र एक छोरा तथा छोरीकी आमा हुन्। उनले आफ्ना यी तीता-मीठा भोगाइहरूलाई समेटेर ‘पुर्पुरो’ नामक आत्मकथा समेत प्रकाशन गरेकी छिन्। सडकको धुलोदेखि बैंकको कुर्लीसम्मको उनको यो यात्राले सङ्घर्ष गर्ने हो भने सफलता अवश्य मिल्छ भन्ने सन्देश दिएको छ








