चितवन क्षेत्र नम्बर ३ बाट तारा चिन्ह लिएर प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी रेनु दाहालले आफू विजयी भए चितवनलाई देशकै राजधानीका रूपमा विकास गर्ने अठोट व्यक्त गरेकी छन्। बुधबार नेपाली कम्युनिस्ट पार्टी चितवन–३ ले भरतपुर–९ को धारेचोकमा आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रममा सम्बोधन गर्दै दाहालले चितवनलाई आर्थिक विकासको केन्द्र, रोजगारीको प्रमुख गन्तव्य तथा व्यापारिक हबका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाइन्।
भरतपुर महानगरपालिकाको प्रमुखका रूपमा करिब नौ वर्ष काम गरेको अनुभव उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा ठूला पूर्वाधार आयोजना सम्पन्न भएको दाबी गरिन्। उनले ६ लेन सडक निर्माण, सिटी हल निर्माण, एक हजार ८८ किलोमिटर सडक कालोपत्रे, भरतपुर विमानस्थल विस्तार र नयाँ टर्मिनल भवन निर्माणलगायतका काम सम्पन्न वा अघि बढाइएको बताइन्। नारायणी नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माण तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको काम पनि प्रगतिको चरणमा रहेको उनले जानकारी दिइन्।
दाहालले महानगर प्रमुख हुँदा सुरु भएका केही अधुरा योजना संघीय संसदमा पुगेपछि बजेट विनियोजनमार्फत पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्। बजार क्षेत्रको ढल व्यवस्थापनलाई दीर्घकालीन समाधान दिन डिपिआर र इआइए प्रक्रिया पूरा भइसकेको उल्लेख गर्दै उनले करिब ३ अर्ब रुपैयाँ लागतको ढल निकास परियोजना सम्पन्न गर्ने योजना रहेको बताइन्।
“महानगर प्रमुख हुँदा जनताको सुख–दुःखमा साथ दिएको छु, अब संघीय संसदमा पुगेर पनि जनताको सेवक भएर काम गर्नेछु,” उनले भनिन्। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चित्रबहादुर श्रेष्ठले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए भने उम्मेदवार दाहालसहित सहभागीहरूले उत्साहपूर्वक कार्यक्रममा सहभागिता जनाएका थिए।








