नेपाली गीतसङ्गीतका धरोहर, नेपाली राष्ट्रिगानका सङ्गीतकार अम्बर गुरूङको जन्मदिनको छेको पारेर पोखरेली युवा साँस्कृतिक परिवारले ‘अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार’ स्थापनाको घोषणा आइतबार गरेको छ।
आगामी वर्षबाट प्रदान गरिने पुरस्कार हरेक २-२ वर्षमा गीत लेखन, सङ््गीत, गायन र वाद्यवादन क्षेत्रमा विशिष्ट र उल्लेखनीय योगदान पु¥याएका स्रष्टा वा संस्थालाई प्रदान गरिने पुरस्कार स्थापना समितिका संयोजक सरूभक्तले पत्रकार सम्मेलनमा जानकारी दिए।
नगद २ लाख, ताम्रपत्र र दोसल्लासहित पुरस्कार र सम्मान दिइने छ । पुरस्कार सञ्चालनका लागि २० लाख रुपैयाँको अक्षयकोष स्थापनाको काम अगाडि बढिरहेको र हाल १० लाखभन्दा बढी रकम जुटेको छ । अक्षयकोषको रकम वृद्धि भएमा पुरस्कारको राशी ३ लाख बनाइने पुरस्कार स्थापना समितिका सहसंयोजक तीर्थ श्रेष्ठले जानकारी दिए।
अक्षयकोष स्थापनाको लागि ३ वर्ष पहिले भेट्रान ग्रुप हङकङले आयोजना गरेको गायक तथा सङ्गीतकार विक्रम गुरुङको ‘मेरो सङ्गीत यात्रा’ कार्यक्रमबाट उठेको ५ लाख रुपैयाँ पोयुसापलाई हस्तान्तरण गरिएको थियो । अक्षयकोषवृद्धिका लागि पोखरेली मञ्च युकेले सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको ‘सिर्जनाको घेराभित्र सरुभक्त’ कार्यक्रमबाट बचत भएको २ लाख ५० हजार पनि थप गरिएको छ । अक्षयकोषको राशी २० लाख पु¥याउन पुरस्कार स्थापना समितिले विभिन्न व्यक्ति, संघसंस्था, संघ, प्रदेश र स्थानीय सरकारसँग सहयोगको अपिल पत्रकार सम्मेलनमा गरेको थियो।
नेपाली गीतसङ्गीतका धरोहर अम्बर गुरुङ, गीतकार, गायक तथा सङ्गीतकारका रूपमा अग्रगन्य व्यक्तित्व हुन् । नेपाली राष्ट्रिय गानमा सङ्गीत भरेका गुरुङ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति थिए । नेपालको तनहुँमा थातथलो भएका गुरुङका पिता उजीरसिंह गुरुङ भारतको दार्जिलिङमा रोजीरोटीका लागि जाँदा अम्बर गुरुङको जन्म उतै वि.सं. १९९४ फागुन १५ गते भएको थियो । ७८ वर्षको उमेरमा उनको मृत्यु २०७३ जेठ २५ गते काठमाडौंमा भएको थियो । नेपाल आएर कर्मभूमि बनाएका अम्बर गुरुङप्रतिको श्रद्धाले राष्ट्रियस्तरको पुरस्कार स्थापना गरिएको जानकारी प्रतिष्ठानका पूर्व सदस्य सचिव तीर्थ श्रेष्ठले दिए ।
अम्बर गुरुङले ५ दशकसम्म नेपाली गीतसङ्गीतको क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए । सङ्गीतकार गुरुङले कोलकातामा पहिलोपटक सन् १९६१ म ‘नौ लाख तारा उदाए’ भन्ने अगमसिंह गिरीद्वारा रचित गीत रेकर्ड गरेका थिए । उनी वि.सं. २०२६ मा सङ्गीत विभागका प्रमुखका रूपमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्रवेश गरेका थिए । उनले लक्ष्मीप्रसाद देवकोटाको गीति नाटक कुन्जिनी र मुनामदनमा सङ्गीत संयोजन गरेका थिए । गुरुङले सत्यमोहन जोशीका चार नाटक लगायत माधवप्रसाद घिमिरेको मालतीमङ्गले गीति नाटकमा सङ्गीत दिएका थिए । उनले चलचित्र मनको बाँध, जीवनरेखा, आदिकवि भानुभक्तको वृत्तचित्रमा पाश्र्व सङ्गीत र स्वर दिएका थिए । पाँच दशकसम्म गीत सङ्गीतमा निरन्तर साधनारत रही साङ्गीतिक माध्यमद्वारा नेपाली कला र संस्कृतिको उत्थानमा सशक्त योगदान गरेका अम्बर गरुङको सम्मानार्थ पोखरेली युवा साँस्कृतिक परिवारले पुरस्कार स्थापनाको जमर्को गरेको हो ।
सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरूभक्त श्रेष्ठ संयोजक रहेको पुरस्कार स्थापना समितिमा उक्त प्रज्ञा प्रतिष्ठानका संस्थापक सचिव तीर्थ श्रेष्ठ सहसंयोजक रहेका छन् । सदस्यहरूमा परिवारका संस्थापक सहसचिव, पूर्व अध्यक्ष तथा आजीवन सदस्य विक्रम गुरुङ, आनन्द श्रेष्ठ, टोपबहादुर थापा, उषा शेरचन, अमृत गुरूङ, रमेश श्रेष्ठ, सरस्वती प्रतीक्षा, प्रकाश ज्ञवाली, डा. चैचन्य अधिकारी, शिव त्रिपाठी, मोती भुजेल र एम.डी. काफ्ले रहेका छन् ।
साहित्य, कला र सङ्गीतका क्षेत्रमा पोखराको मिनी एकेडेमीमा रूपमा परिचित पोखरेली युवा साँस्कृतिक परिवार विगत ४४ वर्षदेखि निरन्तर क्रियाशील छ । परिवारले शिरोमणि पुरस्कार, ललितकला पुरस्कार, सोम बज्रचार्य संगीत पुरस्कार सञ्चालन गर्दै आएको छ । पुरस्कारका लागि आवश्यक कार्यविधि बनाएर योगदानमा आधारित स्रष्टा तथा संस्थालाई निरन्तर पुरस्कृत गरिने कुरा संस्थाका अध्यक्ष मोती भुजेलले जानकारी दिए ।