‘पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिपछि केही समूहहरू चुनाव भाँड्न सकिन्छ कि भनेर लागेको देखिन्छ,’ एक उच्च सुरक्षा अधिकारी भन्छन्, ‘त्यस्ता सबै समूहको पहिचान गरी निगरानी र कारबाही प्रक्रिया अघि बढाइसकेका छौँ ।’ प्रजातन्त्र दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्रिय सहमति गरेर मात्र निर्वाचनमा जानुपर्ने भन्दै निर्वाचनको विपक्षमा धारणा राखेका थिए । उनको अभिव्यक्तिपछि केही राजावादी निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सुरक्षा निकायको रिपोर्ट छ ।
प्रहरीले यही आरोपमा दुर्गा प्रसाईं, धर्मेन्द्र बाँस्तोला, ऋषि कट्टेल, एसपी साहलगायत व्यक्तिलाई थुनामै राखेर अनुसन्धान गरिरहेको छ । पशुपति खड्का, सन्तोष राजावादीलगायत व्यक्तिलाई प्रहरीले निगरानी थालेको छ । केही उग्र पहिचानवादी समूहलाई पनि चुनौतीका रूपमा राखेर प्रहरीले उनीहरूको गतिविधि नियालिरहेको छ ।
उपत्यकाबाट नौ हजार प्रहरी खटिए विभिन्न जिल्लामा थप मद्दतका लागि उपत्यकामा कार्यरत नौ हजार प्रहरी खटिएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा भेला गरेर प्रहरीलाई विभिन्न जिल्लामा खटाइएको हो ।उपत्यकाबाट करिब १२ हजार प्रहरी निर्वाचनमा सहयोग गर्न खटाउने निर्णय भइसकेको छ । कार्यालयमा अत्यावश्यकबाहेक सबै जनशक्तिलाई निर्वाचनमा परिचालन गरिएको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताए । उच्च प्रहरी अधिकारीलाई पनि विभिन्न जिल्लामा अनुगमन गर्ने गरी खटाउने तयारी भइरहेको छ ।








