• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

तत्कालीन माओवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीले १८ वर्षपछि लेखनाथ न्यौपानेलाई उम्मेदवार

"तत्कालीन माओवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीले १८ वर्षपछि लेखनाथ न्यौपानेलाई उम्मेदवार "

  •    अभियान हाम्रो डट कम / सोमबार, फागुन ११, २०८२  

  • कुनै पदको लोभ न सत्तामोह । करिब ३६ वर्षको राजनीतिक यात्रामा विद्यार्थी र पार्टीको सांगठनिक जिम्मेवारी मात्र सम्हाले । अध्ययनमा समय खर्चिए । पुस्तक लेखे । पद र नियुक्तिका लागि कुनै नेताको ढोका ढकढक्याएनन् ।

    पार्टी विधिविपरीत हिँड्दा प्रतिवाद गरिरहे । तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) का नेता लेखनाथ न्यौपाने विद्रोही स्वर हुन् । पदको आसक्ति नभएका उनी अवसरबाट वञ्चित रहे । तर, सबै नेताहरूसँग समदूरीमा रहे ।

    अनुकूलता

    • स्वच्छ छवि र इमानदारिता
    • बलियो जनाधार र विगतको मत
    • डा. भट्टराई र ‘सिनियर’ नेताको अनुपस्थिति

    प्रतिकूलता

    • प्रतिस्पर्धीहरूको उदय
    • डा. भट्टराईको अस्पष्ट समर्थन
    • संसदीय अनुभवको कमी

    सिरानचोक गाउँपालिका–३ हर्मीका लेखनाथ न्यौपाने यो पटक भने आसन्न निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार छन् । नेकपाबाट गोरखा–२ मा पहिलोपटक न्यौपानेले चुनावी प्रतिस्पर्धा गर्दैछन् । इमानदार र प्रष्ट वक्ताको रूपमा पार्टीभित्र परिचित उनी २०२९ सालमा हर्मीमा जन्मिए । विपन्न परिवारमा हुर्केका उनको बाल्यकाल सुखद रहेन । ११ सन्तानमध्ये उनी आठौँ हुन् ।

    महेन्द्र लीला मावि (तत्कालीन समयमा निमावि) मा आठ कक्षासम्मको अध्ययनपश्चात् उनी माध्यमिक तहको अध्ययनका लागि जनता मावि पुगे । त्यहीँबाट एसएलसी दिए । एसएलसीपछि उच्च शिक्षाका लागि उनी गोरखाबाट काठमाडौँ लागे । ताहाचलस्थित महेन्द्ररत्न क्याम्पस (हाल नेपाल शिक्षा क्याम्पस) बाट आफ्नो अध्ययनलाई अघि बढाए । शिक्षाशास्त्र संकाय रोजे । त्यहाँबाट बीएड सके ।

    न्यौपानेले राजनीतिप्रतिको चासो १६ वर्षको उमेरदेखि नै राख्न थालेका थिए । विद्यार्थी राजनीतिमा सक्रिय हुन थाले । २०४५ सालमा विद्यार्थी संगठनमा आबद्ध भए । २०४९ सालदेखि तत्कालीन संयुक्त जनमोर्चा पार्टीको पूर्णकालीन कार्यकर्ता बने । २०५० सालमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीको काठमाडौँको जिल्ला अध्यक्ष, २०५१ मा केन्द्रीय सदस्य हुँदै २०६० सालमा विद्यार्थी संगठनको मूल नेतृत्वमा पुगे । अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष दुई कार्यकाल नेतृत्व गरे ।

    विद्यार्थी संगठनमा आबद्ध रहेर लेखनाथ सक्रिय रहेकै बेला माओवादी पार्टीले २०५२ साल फागुन १ बाट सशस्त्र युद्ध सुरु गर्‍यो । जनयुद्ध सुरु गरेकै वर्ष उनी पहिलोपटक कीर्तिपुरबाट पक्राउ परे । केही महिनापछि धरौटीमा रिहा भए । धरौटी २८ हजार रुपैयाँका लागि उनले आफ्नो घरको लालपुर्जा राख्नुपरेको थियो । माओवादी सशस्त्र युद्ध विस्तार हुँदै गर्दा दुई वर्षपछि उनलाई प्रहरीले फेरि पक्राउ गर्‍यो । २०५४ सालमा पुनः पक्राउ परेका उनी चार वर्षपछि छुटे । द्वन्द्वकालमा श्रीमती गुमाए । त्यसबेला जेलमा पाएको यातनाका कारणले उनी देब्रे कान नसुन्ने भए ।

    शान्ति प्रक्रियामा आइसकेपछि तत्कालीन माओवादीले दुईपटक संविधानसभा र दुईपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरिसकेको छ । यो १८ वर्षको अवधिमा माओवादी केन्द्रले लेखनाथलाई उम्मेदवार बन्ने अवसर दिएन । उनका समकालीन व्यक्तिहरू सांसद, मन्त्री बनिसक्दा उनलाई भने पार्टीले केन्द्रीय सदस्यमा खुम्चाएर राख्यो । ‘जेन–जी’ विद्रोहपछि माओवादी केन्द्र विघटित भएर नेपाली कम्युनिस्ट पार्टी बनेसँगै लेखनाथले चुनावमा प्रतिस्पर्धा गर्ने अवसर पाएका छन् ।

    यसअघि ‘सिनियर’ नेताहरूकै कब्जामा क्षेत्र रहेकाले उनलाई अवसरबाट वञ्चित बनाए । यो कुरा उनी स्वयं पनि स्वीकार गर्छन् । ‘सबैले सबै पद पाउँदैनन्, फेरि गोरखामा सिनियर नेताहरू भएर मैले अवसर नपाएको होला,’ लेखनाथले अनलाइनखबरसँग भने, ‘पार्टीभित्र फरक विचार र आलोचनात्मक दृष्टिकोण राखेकाले अवसर दिएनन् भन्ने बाहिरी विश्लेषण हुन्छ मेरो ।’

    गोरखा–२ बाट २०७९ को निर्वाचनमा प्रचण्ड आफैँ उठेका थिए । २०७४ सालमा नारायणकाजी श्रेष्ठले टिकट पाए । २०७० मा हितराज पाण्डे उम्मेदवार बने । आसन्न निर्वाचनमा प्रचण्ड रुकुम पूर्व पुगेका छन् भने श्रेष्ठले सर्लाहीबाट उम्मेदवारी दिएका छन् । शीर्ष नेताहरूले गोरखा छाडेपछि यो पटक न्यौपानेले अवसर पाएका हुन् । लेखनाथका अनुसार यसपटक पनि उनले उम्मेदवार बन्न पाऊँ भनेर हारगुहार गरेनन् । पार्टीले टिकट दिएपछि मात्र उनी अध्यक्ष प्रचण्डलाई भेट्न पुगेका थिए । ‘मलाई यो पद चाहियो, त्यो ठाउँमा नियुक्ति चाहियो भनेर मैले आजसम्म कसैलाई भनिनँ,’ लेखनाथ भन्छन्, ‘मेरो नाम सिफारिस गर, मलाई टिकट चाहियो भनेर कोही नेतालाई भेट्न पनि गइनँ । टिकट पाएपछि मात्र प्रचण्डकहाँ पुगेको थिएँ ।’

    अहिले उनी घरदैलो अभियानमा व्यस्त छन् । जुनसुकै हतकण्डा अपनाएर चुनाव जित्नैपर्ने मान्यतामा आफू नरहेको उनी बताउँछन् । पार्टीको निर्णयअनुसार जनअनुमोदनका लागि होमिएको बताउने लेखनाथले भुइँमान्छेको मुद्दाका लागि सधैं लडिरहने बताउँछन् । स्वच्छ छविको पहिचान बनाएका लेखनाथले आफ्नो जित्ने आधारमा विगतको पृष्ठभूमिलाई समेत देखाउँछन् । इमानदारिता कायम राखेर चुनावी मैदानमा उत्रेको बताउँदै लेखनाथ भन्छन्, ‘पैसा नभएर चुनाव हारिन्छ भने हार्न तयार छु । तर तडकभडक गर्दिनँ । बरु हारेर मानक स्थापित गर्छु ।’

    को–को छन् मुख्य प्रतिस्पर्धी ?

    २०५६ सालसम्म कांग्रेसले वर्चस्व कायम गर्दै आएको गोरखामा २०६४ सालपछि माओवादीको दवदबा बढ्यो । त्यसयताका निर्वाचनमा माओवादी नै हावी बन्दै आएको छ । २०७० सालको निर्वाचनमा माओवादीबाट गोरखा–२ मा विजयी भएका हितराज पाण्डे स्थानीय विकास मन्त्रीसमेत बने । २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट उठेका नारायणकाजी श्रेष्ठ डा. बाबुराम भट्टराईसँग पराजित भए । माओवादीबाटै फुटेर गएका भट्टराई नयाँ शक्तिबाट चुनाव लडेका थिए । २०७९ सालको निर्वाचनमा भारी मतान्तरले प्रचण्ड सोही क्षेत्रमा निर्वाचित भए । त्यसो त, उक्त निर्वाचनमा माओवादीले कांग्रेससँग तालमेल गरेको थियो । बाबुरामले पनि प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेर सहयोग गरेकाले जित सहज भएको थियो ।

    कांग्रेस र माओवादी मुख्य प्रतिस्पर्धी रहे पनि पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि प्रतिस्पर्धीको रूपमा उदाएको देखिन्छ । नयाँको खोजीमा कांग्रेस र माओवादीबाटै पार्टी प्रवेश गर्नेहरू पनि बढिरहेका छन् । लेखनाथसँग कांग्रेसका प्रकाशचन्द्र दवाडी, एमालेका मिलन गुरुङ (चक्रे मिलन) र रास्वपाका कविन्द्र बुर्लाकोटी चुनावी मैदानमा उत्रिएका छन् । नेकपाका उम्मेदवार लेखनाथले आफ्नो मुख्य प्रतिस्पर्धी शक्ति कांग्रेसलाई ठान्छन् । रास्वपाप्रति उनको टिप्पणी छ, ‘उहाँहरू भर्खर जन्मनुभएको हो । सिद्धान्त के हो ? विचार के हो ? जरा के हो ? कहाँ पुग्ने हो ? नेता कार्यकर्ताको नैतिकता के हो ? त्यो टुंगो नभई टिप्पणी गर्न मिल्दैन ।’

    सांगठनिक हिसाबले एमाले कमजोर रहेको बताउँदै न्यौपाने कांग्रेसलाई नै मुख्य प्रतिस्पर्धी ठान्छन् । विशेष महाधिवेशनपछिको कांग्रेस फुटले आफूलाई फाइदा पुगेको उनी जिकिर गर्छन् । बाबुराम भट्टराई ‘ब्याक’ हुनुले जितको सम्भावना झन् बलियो बनेको नेकपाभित्रको बुझाइ छ । लेखनाथ भन्छन्, ‘चुनावमा आउने बेलैमा उहाँलाई सोधेर तपाईं जाने भए म जान्नँ भनेर आएको थिएँ । अहिले उहाँ नभएपछि उहाँको उत्तराधिकारीको रूपमा मैले काम गर्नुपर्छ, उहाँ ब्याक हुँदा मलाई समर्थन गर्नुपर्छ ।’

    सांगठनिकभन्दा व्यक्तिगत प्रभावका कारण भट्टराई गोरखा–२ मा बलियो उम्मेदवारका रूपमा परिचित थिए । तर, उनी प्रतिस्पर्धी भएनन् । भट्टराई उम्मेदवार नहुँदाको लाभ कुन उम्मेदवारले पाउन सक्छन् ? यकिनसाथ भन्न कठिन छ । भट्टराई सांकेतिक रूपमा रास्वपातिर ढल्किए पनि उनी आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले हालसम्म कसैलाई सहयोग गर्ने निर्णय नभएको विज्ञप्ति निकालेर जानकारी गराएको छ । नेकपाका उम्मेदवार लेखनाथ भने भट्टराईले आफूलाई सहयोग गर्नेमा ढुक्क देखिन्छन् । अघिल्लोपटकको मत परिणामअनुसार पहिलो माओवादी केन्द्र भएको उल्लेख गर्दै निर्वाचित हुने दाबी नेकपा उम्मेदवार लेखनाथ गर्छन् ।

    गोरखा–२ मा गत निर्वाचनमा समानुपातिकतर्फ १९ हजार मत तत्कालीन माओवादी केन्द्रले कटाएको थियो । दोस्रो स्थानको कांग्रेसको पक्षमा ११ हजार ८८२ मत खसेको थियो । रास्वपाले ८ हजार ९९९ मत ल्याउँदा चौथो शक्ति एमालेले ६ हजार १८५ मत प्राप्त गरेको थियो ।

    पटक–पटक पार्टीले प्रदान गर्ने अवसरबाट वञ्चित भएका लेखनाथ यसपटक जनअनुमोदित भएर संघीय संसद्मा आउने विश्वाससहित मत माग्न व्यस्त छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.