सिन्धुलीको मरिणमा निर्माणाधीन हिमालयन फुड कम्पनी (राँगाको मासु प्रशोधन उद्योग) मा कार्यरत कामदारबीच झडप भएको छ । आपसी विवादको क्रममा भएको झडपमा ७ जना कामदार घाइते भएका छन् ।
सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार सोमबार बिहान मरिण गाउँपालिका–४ साहानस्थित हिमालयन फुड कम्पनीमा मजदुरबीच भएको झडपमा २ नेपाली र ५ चिनियाँ नागरिक कामदार घाइते भएका छन ।
मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनलाई कामबाट निकालिएको विषयलाई लिएर सुरु भएको विवादले झडपको रूप लिएपछि दुवै पक्षका कामदार घाइते भएका हुन् ।
प्रहरीका अनुसार झडपमामा नेपाली कामदार नवराज बम्जन र गोकर्ण कटुवाल घाइते भएका छन् । बम्जनको दाहिने आँखामा र दाहिने खुट्टामा चोट लागेको छ । उनको अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली रिफर गरिएको प्रहरीले जनाएको छ । उदयपुरको कटारी नगरपालिका–१२ का २२ वर्षीय कटुवालको टाउकोमा चोट लागेको छ ।







