पोखरा । हल्ट प्राइज गण्डकी विश्वविद्यालय (Hult Prize Gandaki University) ले हल्ट प्राइज ओरिएन्टेसन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। युवामा उद्यमशीलता, नवप्रवर्तन र सामाजिक समस्याको समाधान खोज्ने उद्देश्यसहित आयोजित यस कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
हल्ट प्राइज एक वार्षिक रूपमा आयोजना हुने विश्वस्तरीय प्रतियोगिता हो, जसमा विद्यार्थीहरूबाट व्यवसायिक तथा सामाजिक प्रभाव पार्ने विचारहरू खोजिन्छन्। उत्कृष्ट विचार प्रस्तुत गर्ने टोलीलाई १० लाख अमेरिकी डलरसहित पुरस्कृत गरिन्छ। प्रत्येक वर्ष “द इन्टरनेशनल हल्ट कम्युनिटी” ले नयाँ थीम सार्वजनिक गर्छ र विश्वभरका विद्यार्थीहरूले सोही थीममा आधारित भएर आफ्ना उद्यमशील विचार प्रस्तुत गर्नुपर्दछ।
हल्ट प्राइजको यात्रा सर्वप्रथम विद्यार्थीहरूको ‘अन–क्याम्पस कार्यक्रम’ बाट सुरु हुन्छ। अन–क्याम्पस विजेताले रिजनल्स मा प्रतिस्पर्धा गर्ने अवसर पाउँछन्। त्यहाँबाट छनोट भएका टोलीहरू एक्सेलेरेटर कार्यक्रममा सहभागी भई प्रशिक्षण लिन्छन् र अन्ततः विश्वका उत्कृष्ट ६ टोलीहरू ग्लोबल प्रतिस्पर्धामा १० लाख अमेरिकी डलरका लागि प्रतिस्पर्धा गर्छन्।
कार्यक्रमका प्रमुख वक्ता पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेसका सहायक प्राध्यापक तथा युवा नेतृत्व र सामाजिक संलग्नतामा सक्रिय व्यक्तित्व शुभाष मल्लले हल्ट प्राइज भनेको के हो र यसमा कसरी विजेता बन्न सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी दिनुभएको थियो। उहाँले प्रतियोगिताको संरचना, मूल्याङ्कन प्रक्रिया, विचार विकास, व्यवसायिक मोडल तयार गर्ने तरिका तथा प्रभावकारी पिचिङ कसरी गर्ने भन्ने विषयमा सहभागी विद्यार्थीहरूलाई स्पष्ट जानकारी गराउनुभयो।
कार्यक्रममा विशेष अतिथिका रूपमा वन विज्ञानको विद्यार्थी अर्किड पुरी र उद्यमशीलता विकासको विद्यार्थी टिना शाह ले आफ्नो–आफ्नो हल्ट प्राइज यात्राका अनुभव तथा त्यसबाट प्राप्त सिकाइ (insights) साझा गर्नुभएको थियो। उहाँहरूले हल्ट प्राइजमा सहभागी हुँदै भोगेका चुनौती, अवसर र सफलताका अनुभव सुनाउँदै विद्यार्थीहरूलाई प्रेरणा प्रदान गर्नुभयो
यसैगरी कार्यक्रमका अतिथिका रूपमा हल्ट प्राइज गण्डकी विश्वविद्यालयका संस्थापक (Founder) दृष्य अधिकारी ज्यू को उपस्थिति रहेको थियो।
हल्ट प्राइज गण्डकी विश्वविद्यालयकी क्याम्पस डाइरेक्टर गरिमा दवाडी ज्यू ले कार्यक्रमलाई सफलताका साथ नेतृत्व प्रदान गर्नुभएको थियो। उहाँका अनुसार उक्त कार्यक्रममा गण्डकी विश्वविद्यालयका शिक्षक–शिक्षिकाहरू तथा ५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा क्याम्पस डाइरेक्टर गरिमा दवाडी ज्यूले आगामी दिनहरूमा पनि यस्तै नवप्रवर्तनमूलक, उद्यमशीलता विकास गर्ने र विद्यार्थी केन्द्रित कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन बिनिता उप्रेती र अस्मिता दाहालले गर्नुभएको थियो।
हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
तपाईको प्रतिक्रिया







