नेपालको राजनीतिमा वामपन्थी आन्दोलनले ऐतिहासिक महत्व राख्छ। जनआन्दोलन, लोकतान्त्रिक आन्दोलन , संघीय गणतन्त्रको घोषणा र संघीयताको कार्यान्वयन र सबै परिवर्तनको पृष्ठभूमिमा वामपन्थी दलहरूको निर्णायक भूमिका रहँदै आएको जगजाहेर नै छ। तर आज वामपन्थी राजनीति सत्ता र ब्याक्ती केन्द्रितका कारण आन्तरिक विभाजन, विचार शुन्य र अनावश्यक प्रतिस्पर्धाको जालोमा फँसेको सबैमा विधित नै छ।जसका कारण जनता र कार्यकर्तामा तिब्र असन्तुष्टि र आक्रोश दिनानुदिन बडेको पाइन्छ।पछिल्ला केही दिन यता नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका वाम शक्तिहरु बीच पुनः एकताले एउटा आशाको संचार त पक्कै नै गरेको छ तर यो एकतालाई सार्थक र साचो अर्थमा परिणाममुखी बनाउन जरुरी छ।
१. ऐतिहासिक पृष्ठभूमि
नेपालमा वामपन्थी आन्दोलनको औपचारिक सुरुवात २००७ सालको जनक्रान्तिपछि भएको हो। त्यसपछिका दशकहरूमा विभिन्न विचारधारात्मक र संगठनात्मक भिन्नताले वाम शक्तिहरु टुटफुट र विभाजित भए।
दस वर्षको घनिभुत वर्ग संघर्षले उपिडित वर्ग,जाति,क्षेत्र र लिंगलाई भावनात्मक सम्बन्धलाई एकताबद्ध गर्ने प्रयास भए पनि वामपन्थी केन्द्रको रुपमा उभि रहन सक्ने स्थिति रहन गयो। २०७५ सालमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच भएको ऐतिहासिक एकताले देशमा वामपन्थी स्थायित्वको आशा त जगाएको थियो। तर, नेतृत्वको असक्षमता,सत्ता केन्द्रित स्वार्थ,दम्भ,अहंकार र घमण्डका कारणले एकता लामो समय सम्म टिक्न सकेन र बिचमा नै विघटनमा हुन पुग्यो। त्यसपछि वामपन्थी राजनीति पुनः स–साना नाङ्ले पसल खोल्ने खेलमा तल्लीन भए र एक अर्कामा असली साबित गर्न तल्लीन भए।
२. वाम एकताको आवश्यकता
नेपालको समकालीन राजनीतिक परिदृश्यमा वाम शक्तिहरु बीचको एकता केवल दलगत स्वार्थका निम्ति मात्र होइन ऐतिहासिक राष्ट्रिय आवश्यकता पनि हो।देशमा आर्थिक असमानता, बेरोजगारी, वैदेशिक परनिर्भरता, र सुशासनको कमजोर अवस्था गहिरिँदै जाँदा वाम शक्तिको विभाजनले जनतामा नैरास्यता जग्नु स्वभाविक नै थियो।वामपन्थी शक्तिहरूको विचारधारात्मक आधार मार्क्सवाद, लेनिनवाद र माओवाद को आलोकमा बैज्ञानिक समाजवादको लक्ष्य राखी जन अपेक्षा अनुरुपको पार्टी निर्माण गर्नु ऐतिहासिक आवस्यकता हो। विगतमा दलहरूले सत्ता केन्द्रित प्रतिस्पर्धा गर्दा गम्भीर क्षति सहित मूल विचारधाराको प्रश्न कमजोर बनेको यथार्थ हो।त्यसैले, साझा वैचारिक दृष्टिकोण र संगठनात्मक संरचना मार्फत वाम आन्दोलनलाई पुनर्गठन गर्नु आजको ऐतिहासिक आवश्यकता बनेको छ।
३. एकताको सम्भावित रूपरेखा
वाम शक्ति बीचको एकता केवल नाम र संगठनको मिलन होइन; यसले विचार, नीति र व्यवहारमा समानता ल्याउनु पनि हो।
एकतामा-
(क)वैचारिक एकरुपता
मार्क्सवादी–लेनिनवादी र माओवादी विचारबीच सहमति खोज्दै नेपालको सामाजिक संरचना र आर्थिक यथार्थ धरातलको आधारमा नयाँ वैचारिक मार्गचित्र तय गर्नु पर्छ।
(ख) नीति कार्यक्रम
रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र, शिक्षा र स्वास्थ्यमा समान पहुँच, र सुशासनमा केन्द्रित साझा नीति बन्नु पर्दछ।
(ग) संस्थागत नेतृत्व प्रणाली
नेतृत्वको व्यक्तिगत प्रतिस्पर्धा अन्त्य गर्दै सामूहिक निर्णय प्रणालीमा आधारित नेतृत्वको ढाँचा बन्नु पर्दछ।
(घ) संगठन सुदृढीकरण
केन्द्र,प्रदेश,जिल्ला, नगर,गाउँ, वडा, टोल र सेल सम्म साथै जवस/मोर्चाहरुको साझा संगठनात्मक संरचना बनाएर कार्यकर्ताबीच आपसी विश्वास र सहकार्य पुनःस्थापित गरिनु पर्दछ।
४. मुख्य चुनौतीहरू
फरक स्कुलिङ्ग, फरक कार्यशैली, फरक मनोविज्ञानका बिच गरिएको एकताले गम्भीर चुनौती थपिन सक्छ।तसर्थ निम्न बिषयमा समयमा नै ध्यान जान जरुरी छ।
(१) सत्ताकेन्द्रित समीकरण भए एकता सार्थक नबन्न सक्दछ।
(२) वैचारिक स्पष्टताको कमी र व्यवहारिक विरोधाभास रहे एकता सार्थक नबन्न सक्छ ।
(३) पुरानो पुस्ताको वर्चस्व र नयाँ पुस्ताको असन्तुष्टि बिचको सन्तुलन मिलाउन नसक्दा एकता सार्थक नबन्न सक्दछ।
(४) विगतमा भएको एकताबाट गम्भीर शिक्षा नलिने हो भने एकता सार्थक नबन्न सक्छ।।
(५) बाह्य भुराजनितिक प्रभाव र आन्तरिक राजनीति बिच सन्तुलन मिलाउन नसक्दा एकता सार्थक नबन्न सक्छ।
उपरोक्त चुनौतीहरू पार गर्न आत्मसमीक्षा,दुर दृष्टि, पारदर्शिता र राजनीतिक संस्कारमा बेलैमा सुधार गर्न आवश्यक छ।
५. सम्भावना र निष्कर्ष
वाम शक्ति बीच पुनः एकता सम्भव मात्र होइन ऐतिहासिक आवश्यकता बनेको छ। एकता केवल सत्ता केन्द्रित होइन, विचार र जनताको बृहत्तर हितलाई केन्द्रमा राखेर गरिनु पर्दछ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका वाम शक्ति बीच हुने एकताले परिवर्तनकामी उत्पीडित वर्ग,लिंग,क्षेत्र र समुदायमा नयाँ रक्त संचार गरेको छ।वामपन्थी दलहरूले विगतमा भएका कमजोरीबाट पाठ सिकेर जनताको पक्षमा स्पष्ट कार्यक्रम ल्याउन सके भने, वामपन्थी एकता नेपालको राजनीतिक स्थायित्व र समृद्धिको सुगम मार्ग बन्न सक्छ।अत;एव वाम एकता केवल दलहरूको पुनर्मिलन मात्र होइन राष्ट्रको बृहत्तर हित, वैचारिक स्पष्टता र जनताको अपेक्षा अनुपको पार्टी पुनःनिर्माणले मात्र जनताले अनुमोदन गर्न सक्छ।जन अनुमोदित पार्टी निर्माणको यो ऐतिहासिक अवसरमा सबैले हातेमालो गरौ सम्बद्ध सबैमा अग्रिम शुभकामना !
लेखक:- दुर्गा चौलागाईं
नेकपा(माओवादी केन्द्र) प्रदेश सचिवालय सदस्य







