हाम्रो भाषा, कला, संस्कृति हाम्रो सभ्यताको पहिचान भन्ने मूल नाराका साथ नेवाः खलः कचाको आयोजनामा लाखे नाच प्रतियोगिता पोखरामा हुने भएको छ ।
प्रतियोगिता साउनको २६ गते हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पोखरा प्रदर्शनी केन्द्रमा हुने प्रतियोगितामा २३ टोलीको सहभागीता हुने र २० टोलीले मात्र प्रतिष्पर्धा गर्ने नेवाः खलः कचा पृथ्वीचोकका अध्यक्ष रेशमबाबु श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार (बुधबार) नै गोलाप्रथा गरेर सहभागी टोलीहरुका लागि पस्तुतीको समय टुङ्गो लागेको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद रु ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३, २२ हजार २ सय २२ र ११ हजार १ सय ११ का साथमा मायाको चिनों तथा प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगीता मुलसंयोजक सुरेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो ।
लाखे नृत्य प्रस्तुतीका लागि चाहिने पोशाक, मुकुण्डो, गहना, र बाजाहरुको व्यवस्था प्रतियोगि टोली स्वयंले व्यवस्था गर्नु पर्ने नियममा उल्लेख छ । कार्यक्रम सम्पन्न गर्नका लागि २१ लाखभन्दा बढि खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगीतामा दर्शकहरुलाई प्रवेश निःशुल्क गरिएको छ भने दर्शकहरुले नेवारी खानाको स्वाद लिन झो भ्वयः को समेत आयोजना गरिएको छ ।
करिब दश हजार जनाको उपस्थिति रहने आँकलन गरिएको कार्यक्रममा एलईडी मार्फत पनि नाच देखाईने छ ।