अविरल वर्षाका कारण पहिरोले बागलुङमा प्रहरी चौकी पुरिएको छ । दुई दिनदेखि निरन्तर परेको वर्षाका कारण चौकी माथिदेखि पहिरो खस्दा प्रहरी चौकी पञ्चकोटको भवन पुरिएको हो । पहिरोले बागलुङ नगरपालिका–६ सर्वसिद्धिधाम पञ्चकोट जाने बाटोमा बनाइएको सिढी र पर्खाल भत्किदा प्रहरी चौकीको भवन पुरिएको हो ।
मानवीय क्षति नभए पनि चार कोठे भवनको तीन ओटा कोठाहरु पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । पञ्चकोट क्षेत्रको सुरक्षाका लागि मन्दिर व्यवस्थापनले निर्माण गरेको प्रहरी चौकीको उक्त भवन पहिरोले भत्किएपछि त्यहाँ खटिएका पाँच जना प्रहरी जवानलाई पञ्चकोट मन्दिरको गण्डकी सभाहलमा सारिएको छ ।
पहिरोले मोटरसाइकलसहित कार्यालयमा रहेको कागजातहरु पुरिएको प्रहरी उपरीक्षक कँडेलले बताउनुभयो । अहिले जिल्ला प्रहरी कार्यालय बागलुङबाट १० जना र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट १४ जना गरि २४ जनाको टोली घटनास्थल पुगेर उद्धार कार्य थालिएको उहाँको भनाई छ ।








