१५ असार, काठमाडौं। असार १५ अर्थात् धान दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा विशेष रोपाइँ कार्यक्रम आयोजना गरियो।
राष्ट्रपति कार्यालयद्वारा आयोजित यस कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेललगायत अन्य सहभागी थिए।
रोपाइँको शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेशा, श्रमको सम्मानको संस्कृति, र धान उत्पादनलाई प्रोत्साहन दिनका लागि प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए। उनले भने, ‘पहिले देशमा फलफूल तरकारीभन्दा धानको उत्पादन बढी हुन्थ्यो। धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो। पछि करेसाबारी बढ्न थालेपछि धानको उत्पादन घटेर आयात गर्नुपर्ने स्थिति आयो। यसले असन्तुलन निम्त्यायो। त्यसैले सन्तुलित खानपिनका लागि पुनः धानको उत्पादन, कृषि पेशा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन रोपाइँमा सहभागी भएको छु।’
रोपाइँपछि दही चीउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो।