माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा आज बिहान १० बजे प्रकाशन हुने भएको छ । बुधबार नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले आजमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिए ।
नतिजा प्रकाशन हुनु अघि आज बिहिबार बिहान बोर्ड बैठक बोलाइएको छ । सो बैठक सम्पन्न भएपछि नतिजा सार्वजनिक गर्ने तयारी छ ।
१५ चैत्रदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी थिए । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ ।
लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरिने छ । तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात २६.२५ अंक पाएको छैन भने प्रमाण पत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र ग्रेड वृद्धि परीक्षा नदिइ कक्षा ११ मा पढ्न पाउने छैनन् ।
साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६दशमलव२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ । विद्यार्थीले २ विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।
दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।








