११ असार २०८१ पोखरा
गुरुङ फिल्म एशोसियशन नेपाल (जिफान) पोखराको घुम्ती बैठक तथा सांस्कृतिक भ्रमण हिजो असार १० गते मोदी गाउँपालिका-५ बाजुङ फलाल्नेमा सम्पन्न भएको छ ।
जिफानको आयोजना, मिलन ग्रुप अफ नेपालको सहकार्य र जिफानका सल्लाहकार एवम् वरिष्ठ समाजसेवी हङकङ निवासी दुर्गा गोथाने गुरुङ `मिलन´ को विशेष सहयोगमा बाजुङ फलाल्नेमा सम्पन्न भएको हो ।
बैठकमा महत्वपूर्ण विभिन्न एजेन्डाहरु माथी छलफल भएका छन् । छलफल पछि निर्णय भएका एजेन्डाहरुलाई कार्यान्वयन गर्न अध्यक्ष गुन्ज बहादुर गुरुङले कार्यसमितिका विभिन्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
बैठकको विभिन्न एजेन्डाहरु मध्ये मुख्य एजेन्डा धेरै अगाडिदेखि जिफानले कार्यालय प्रयोजनका लागि ल्याएको योजनालाई गुन्ज बहादुर गुरुङको नेतृत्वमा रहेको कार्यसमितिले पूरा गर्ने वचन प्रतिबद्धताका साथ पोखरा-१४ स्थित रातामाटेमा जग्गा खरिदका लागि बैना गरेको र यहि साउन मसान्तसम्म जग्गा पास गर्नुपर्ने भएकोले आर्थिक संकलनका निमित्त जिफानका कोषाध्यक्ष अर्जुन गुरुङको संयोजकत्वमा जग्गा खरिद तथा भवन निर्माणका लागि आर्थिक संकलन उपसमिति गठन गरिएको छ ।
जिफानका महासचिव तोल बहादुर गुरुङ `लब्सन´ ले कार्यसमितिको विभिन्न पद र जिम्मेवारी सम्हालेका साथीहरूलाई आफ्नो काम कर्तव्य र दायित्वको बारे समिक्षात्मक समय आएको बताउँछन् ।
यसरी सम्पन्न जिफानको घुम्ती बैठक तथा सांस्कृतिक भ्रमण बारे थप प्रष्ट्याउँदै सल्लाहकारहरु कृष्ण कुमार गुरुङ, राजेश गुरुङ र माओत्सेतुङ गुरुङले संस्थालाई मुर्तरुप दिन विधान सम्बद्ध आपसी सहकार्य गर्दै जानुको विकल्प नरहेको बताउँदै कार्यसमितिका अध्यक्ष, पदाधिकारीहरु र सदस्यहरुलाई जिम्मेवारीबाट विचलन नभई थप जिम्मेवार भइदिन समेत आग्रह गरेका छन् ।








