
काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले छाउपडी प्रथाको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेका छन्।
सोमबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले छाउपडी प्रथाको विद्यमान अवस्थाको अध्ययन गरी प्रतिवेदन तयार गर्न समिति गठन गर्ने निर्णय भएको जानकारी दिए।
उनले छाउपडी प्रथाको नियन्त्रण र अन्त्यका लागि समिति बनाइएको र समितिको प्रतिवेदनमा आधारित भएर आवश्यक नीतिगत कदम चालिने धारणा राखे। त्यस्तै, उनले अछाममा असार ४ गते १३ वर्षीया बालिका छाउगोठमा बलात्कृत भएको घटनाको अनुसन्धान भइरहेको र एकजनालाई पक्राउ गरिएको बताए। उनले पीडित बालिकाको उपचार भइरहेको पनि जानकारी दिए। गृहमन्त्री लामिछानेले निर्मला पन्तको हत्याको अनुसन्धान अझै पनि प्राथमिकतामा रहेको र महिला तथा बालबालिकामाथि हुने कुनै पनि हिंसामा शुन्य सहनशीलता कायम गरि कारबाही गर्न निर्देशन दिएको पनि बताए।








