
१० असार, सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ५९ करोड १८ लाख ६८ हजार ९९९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपमेयर निलकण्ठ खनालले सोमबार १५ औं नगरसभामा उक्त बजेट प्रस्तुत गरेका हुन्। चालू आर्थिक वर्षको बजेट ३ अर्ब २ करोड ६१ लाख रहेकोमा यो बजेट करिब ५७ करोडले बढी भएको हो।
नयाँ बजेटमा पूँजीगततर्फ कुल बजेटको ५१.०७ प्रतिशत अर्थात् १ अर्ब ८३ करोड ४५ लाख र चालुतर्फ ४८.९३ प्रतिशत अर्थात् १ अर्ब ७५ करोड ७३ लाख ९९९ हजार विनियोजन गरिएको छ।
नगरपालिकाले आगामी वर्षका लागि ३६ करोड ८३ लाख आन्तरिक आय, संघीय सरकारबाट १ अर्ब ६९ करोड २८ लाख सशर्त अनुदान, १ करोड ५० लाख विशेष अनुदान, १ करोड समपूरक अनुदान, प्रदेश सरकारबाट २८ करोड १३ लाख सशर्त अनुदान, र सामाजिक सुरक्षा कार्यक्रमका लागि ४० करोड संघीय सरकारबाट प्राप्त गर्ने लक्ष्य राखेको छ।
यसैगरी, संघीय राजश्व बाँडफाँडबाट १८ करोड ९८ लाख, संघीय वित्तीय सामानीकरण अनुदानबाट २४ करोड १२ लाख, कर्णाली सरकारबाट २ करोड ९९ लाख वित्तीय समानीकरण अनुदान, प्रदेश राजश्व बाँडफाँडबाट ६४ लाख, घर-जग्गा तथा मनोरञ्जनबाट १४ करोड ३६ लाख, दहत्तर वहत्तर शुल्कबाट २ करोड ५० लाख र चालु आर्थिक वर्षमा खर्च हुन नसकेको १८ करोड ७४ लाख आय हुने प्रक्षेपण गरिएको छ।
नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार विकास, रोजगारी सिर्जना, स्वच्छ खानेपानी तथा सरसफाई, आत्मनिर्भर उत्पादन, गुणस्तरिय शिक्षा, विद्युतीय सुशासन, शहरी सौन्दर्य र आय आर्जनलाई प्राथमिकतामा राखेको छ।
उपमेयर खनालले बजेटले पूर्वाधार निर्माण, सामाजिक न्याय, आधारभूत शिक्षा, स्वास्थ्य सेवामा पहुँच पुर्याउने र नगरपालिकाको सबै क्षेत्रको दिगो एवं सन्तुलित विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
नगरपालिकाले प्रत्येक वडामा कम्तीमा एउटा ५० लाख भन्दा ठूला नगर गौरव पूर्वाधार आयोजना हुने गरी ९० लाख भन्दा बढीका पूर्वाधार विकास गर्ने नीति लिएको छ। युवाहरुको क्षमता विकास गरी नगर समृद्धिको अभियानमा परिचालन गर्न ‘नगर उपप्रमुख युवा विकास’ कार्यक्रम सञ्चालन गरिने छ, जसका लागि ४० लाख विनियोजन गरिएको छ।
वीरेन्द्रनगरमा सञ्चालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यवस्थापनमा आवश्यक सहयोगसहित युवा तथा खेलकुद क्षेत्रमा १ करोड ४२ लाख ७५ हजार विनियोजन गरिएको छ।
महिला किसान कार्यक्रम सञ्चालन गर्न १ करोड ६० लाख, उद्यम सहकारी तथा उपभोक्ता हितमा ६१ लाख ५० हजार, र जनस्वास्थ्य प्रवर्धन तथा नगर अस्पतालमा ४ करोड ५ लाख ५८ हजार बजेट विनियोजन गरिएको छ।
कृषि विकासमा ५६ लाख ५० हजार, पशुपन्छी विकासमा ४५ लाख ६० हजार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग लगायत लक्षित वर्गमा १ करोड १६ लाख ३० हजार, शिक्षा, युवा तथा खेलकुदमा ७ करोड ९० लाख ६७ हजार, वन, वातावरण, फोहरमैला तथा विपद् व्यवस्थापनमा २ करोड ६४ लाख २० हजार बजेट विनियोजन गरिएको छ।
सार्वजनिक सेवा तथा सुशासनमा २ करोड १७ लाख ४५ हजार र नगर स्तरीय विविध पूर्वाधार विकासमा २५ करोड ८५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ।







