पोखरा, जेठ
पर्यटकीय राजधानी पोखरामा फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा फेवातालमा डुंगा दौड प्रतियोगिता यहि जेठ ३१ मा हुने भएको छ ।
३० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता एंव एक दिने मेला उत्सव आयोजना गर्ने संगठनले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पोखराको पर्यटन प्रवद्र्धन गर्नका लागि जेठ ३१ गते मेला र प्रतियोगिता गर्न लागिएको संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए ।
उक्त प्रतियोगितामा ४० टीमले सहभागिता जनाउने संस्थाका सचिव शिव जिसीले बताए । महिला र पुरुषको छुट्टाछुट्टै टिम रहने जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी हुने टिममा ३ जना हुनु पर्नेछ । सहभागी हुने टिमले काठबाट बनेको डुंगाको प्रयोग गर्नु पर्नेछ एउटा टिमलाई ३ सय रुपैयाँ दर्ता शुल्क तोकिएको उनले बताए । प्रतियोगितामा स्वदेशी तथा विदेशी सबै खेलाडीले सहभागिता हुन पाउनेछन् ।
सहभागीको आफ्नो डुंगा नभए आयोजकले व्यवस्था गर्ने उनले बताए । प्रतियोगिामा पुरुष टीमले २१ सय मिटर र महिला टीमले १५ सय मिटरमा प्रतिस्पर्धा गर्नुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले ३०,००० र द्वितिय हुनेले २०,००० तथा तृतिय हुनेले १०,००० पुरस्कार प्राप्त गर्ने सचिव जिसीले जानकारी दिए । यस्तै महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २००००, १५ ,००० र १० ००० नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सो प्रतियोगिता सम्पन्न गर्नका लागि करिक २० लाख ४० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताबाट बचत भएको रकम फेवातालको सरसफाईमा खर्च गरिने उनले बताए ।








