चलचित्र ‘चपली हाइट ३’ यही फागुनबाट पुनः हलहरूमा लाग्ने भएको छ । निर्माता अर्जुनकुमारले मंगलबार एउटा विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएका हुन् ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार चलचित्र यही फागुन १ गते देखि हलहरूमा पुनः प्रदर्शन हुने भएको छ ।
यो चलचित्र पुस ३० गते प्रदर्शन हुँदाहुँदै ओमिक्रोनको बढ्दो संक्रमणपश्चात हलहरू बन्द गर्ने निर्णयका कारण स्थगित भएको हो । संक्रमणदर क्रमश: घट्दै गएसँगै यही फागुनबाट हलहरू पुनः खोल्न निर्देशन दिएसँगै चलचित्र पुनः रिलिज गर्ने निर्माण टिमले जानकारी दिएको हो ।
निर्माता अर्जुन कुमारले यसलाईं दोस्रो मौकाको रूपमा लिएका छन् । विज्ञप्तिमा भनिएको छ, “आगामी फागुन १ गतेदेखि चलचित्र ‘चपली हाइट ३’ पुनः प्रदर्शन हुने जानकारी गराउँदछौँ र यो मैले दोस्रो मौका पाएको छु । सम्पूर्ण प्रशंसक, मिडियाका साथीहरू तथा शुभ चिन्तकहरूमा सहयोगको अपेक्षा गर्दछु ।”
निकेश खड्का निर्देशित सस्पेन्स थ्रिलर ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतको मुख्य भूमिका छ ।