१ जेठ २०८१ पोखरा ।
कास्की जिल्ला मादी गाउँपालिका वडा नम्बर २ ताङतिङका बेद बहादुर गुरुङ (श्याम) गण्डकी प्रदेश सरकार उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय सम्हाल्ने गरी दोश्रोपटक मन्त्री बनेका छन् । गुरुङलाई यहि बैशाख २४ गते सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय सम्हाल्ने गरी मन्त्रीमा नियुक्त गरेका हुन् । उनी यसअघि कृषि, उर्जा तथा जलस्रोत मन्त्री थिए ।
गुरुङले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष सोमबार नै पोखरा सभागृहमा पद तथा गोपनियताको शपथ लिएका छन् । यसै अवसरमा हिजो बैशाख ३१ गते तमु प्ये ल्हु संघ, केन्द्रीय समितिका अध्यक्ष ओम बहादुर थिम्जे तमुको संयोजकत्वमा केन्द्रीय कार्यसमितिबाट माननीय बेद बहादुर गुरुङलाई सफल कार्यकालको शुभकामना दिंदै बधाई ज्ञापन गर्न उहाँकै कार्यकक्षमा पुगेका थिए । २०२७ साल जेठ २३ गते बुबा टेक शाही गुरुङ र आमा काँबिरी गुरुङको कोखबाट तत्कालीन नामर्जुङ गाबिस वडा नम्बर ५ पण्डित टोल हालको मादी गाउँपालिका वडा नम्बर २ ताङतिङमा जन्मेका मन्त्री गुरुङ राजनीतिककर्मी मात्र नभई गुरुङ चलचित्र जगतमा एक कुशल चलचित्रकर्मी पनि हुन ।
राजनीतिसँगै लामो समय कलाकारितामा लागेका बेद बहादुर गुरुङ (श्याम) ले थुप्रै गुरुङ चलचित्रहरुमा अभिनय, निर्माण र निर्देशन गरेका छन् । विशुद्ध गुरुङ सिनेमा बनाएर गुरुङहरुको संस्कार संस्कृति जोगाउन योगदान पुर्याएका गुरुङले अभिनय मात्र नभई गुरुङ संस्कार संस्कृति माथि लेख, रचना, गीत संगीत पनि सिर्जना गरेका छन् । सुरुमा गुरुङ चलचित्र कुहिरो भित्रबाट अभिनय सुरु गरेका मन्त्री गुरुङले चलचित्र गोठालो लगायत थुप्रै चलचित्रमा अभिनय, निर्माण र निर्देशन गर्दै गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था ´जिफान` अर्थात गुरुङ फिल्म एशोसियसन नेपालको अध्यक्ष पदमा रहेर दुई कार्यकाल पूरा गर्दै गुरुङ जातिको भाषा, संस्कार, संस्कृति जोगाउन तर्फ लागेका थिए ।
कृषि, उर्जा तथा जलस्रोत मन्त्री छँदा गुरुङको पहलमा तमु प्ये ल्हु संघ, केन्द्रीय कार्यालय पोखरा-११ रानीपौवा, शक्तिघाटमा गण्डकी प्रदेश सरकार मार्फत बजेट विनियोजन गरी जमिनमुनिबाट खानेपानी निकालेको छ । योसँगै हाल तमु प्ये ल्हु संघ पोखरामा हुनेगरेको पानीको समस्याबाट छुटकारा पाउने सुनिश्चित भएको छ । यसैगरी मन्त्री गुरुङले हिजोको भेटघाट क्रममा बोल्दै तमु जातिको भाषा, धर्म, संस्कार, संस्कृति जोगाउन स्थापित तमु प्ये ल्हु संघलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।








