फाईल फोटो
आज १३५ औं अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि मनाइँदै छ । नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको थियो । तर २०६४ सालदेखि अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन सरकारले आधिकारिक रुपमा सार्वजनिक बिदा दिन थालेको थियो ।
यस अवसरमा गण्डकी प्रदेश प्रमुख, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमार्फत् राष्ट्रपति रामचन्द्र पौडेलले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले श्रमिकको सम्मान गर्दै श्रम क्षेत्रको कानूनी विभेद अन्त्य गरेको बताएका छन् । सभामुख देवराज घिमिरेले सरोकारवाला सबैले श्रमिकको हितका लागि गम्भीरतापूर्वक सोच्ने र श्रमिकमैत्री वातावरण बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
यसैबीच मजदुर दिवसको अवसरमा यससँग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । जसअन्तर्गत नेपाल ट्रेड युनियन कांग्रेस कास्कीले र्याली आयोजना गर्दैछ ।
आज बिहान ७ः३० बजे पोखराको पृथ्वीचोकस्थित हङकङ बजारबाट बिहान र्याली सुरु हुने जनाएको छ । र्यालीलाई नेपाल बजार तथा सम्बद्ध श्रमिक संघ कास्की र गण्डकी प्रदेश समितिले समेत साथ दिने अध्यक्ष लालप्रसाद ढकाल सन्देशले जानकारी दिए ।








